भोटेकोशी बाढीपछि चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन, पहिचानका लागि डीएनए परीक्षण सुरु

nepalkuro.com

चितवन– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ शवको व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा लिङ्ग पहिचान नभएका रहेका छन्।

सनाखत हुन नसकेका शवलाई भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन भइसकेको छ। तीमध्ये १२ जनाको सनाखत भएको छ भने एक शव व्यवस्थापन गर्न बाँकी रहेको छ।

जिल्लामा शव व्यवस्थापनमा कठिनाइ भएपछि डिएनए नमूना सङ्कलन गरेर शनिबारदेखि देवघाटको जङ्गलमा खाडल खनी शव राख्न थालिएको हो। प्रहरीले शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ शव व्यवस्थापन गरेको थियो।

जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये १२९ वटा लिङ्ग पहिचान नभएका, १०७ पुरुष, ७३ महिला, १५ बालिका र ११ बालक रहेका छन्।

प्रहरीका अनुसार शवहरूको डिएनए नमूना सुरक्षित राखेर जङ्गलमा व्यवस्थापन गरिएको छ। सनाखत भएका शव परीक्षणपछि सम्बन्धित परिवारले बुझेर लगेका छन्। नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।

शव पहिचानका लागि आफन्तको डिएनए नमूना सङ्कलन

भोटेकोशी बाढीपछि चितवनमा फेला परेका शवको पहिचानका लागि आफन्तको डिएनए नमूना सङ्कलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि नमूना सङ्कलन थालेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफन्तको डिएनए नमूना सङ्कलन भइरहेको छ।

उनका अनुसार हराइरहेका व्यक्तिको पहिलो तहको नाता पर्ने बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरिनेछ। नमूना दिन आउने व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो ल्याउनुपर्नेछ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार शव पहिचानका लागि मुख्य रूपमा दाँत र हड्डीका नमूना सङ्कलन गरिएको छ। ती नमूनाबाट डिएनए प्रोफाइल तयार गरी आफन्तबाट सङ्कलन गरिएको डिएनएसँग म्याचिङ गरेर मृतकको पहिचान गरिनेछ।

“पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको डिएनए नमूना आवश्यक पर्छ। यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ,” पोखरेलले भने।

नेपालमा उपलब्ध प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोगसमेत परिचालन गरी कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमूनाको परीक्षण तथा डिएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

चितवनबाहिर रहेका आफन्तले आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर पनि डिएनए नमूना दिन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। विदेशमा रहेका आफन्तका लागि पनि नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

विदेशमा रहेका हराइरहेका व्यक्तिका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत अथवा नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डिएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाएर परीक्षण प्रक्रियामा सहभागी हुन सक्नेछन्।

अस्थायी शव व्यवस्थापनस्थलमा दीप प्रज्ज्वलन

भरतपुर महानगरपालिका–१ देवघाटस्थित जङ्गलमा शव व्यवस्थापन गरिएको स्थानमा मङ्गलबार साँझ दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख तथा सर्वसाधारणको सहभागिता थियो। विभिन्न समुदायका नागरिकले दीप प्रज्ज्वलन गरी यहाँ व्यवस्थापन गरिएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गरी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि कार्यक्रममा सहभागी भएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।

प्रशासनले देवघाटमा गरिएको शव व्यवस्थापन अन्तिम संस्कार नभई मृतकको पहिचान नखुलेसम्मका लागि गरिएको अस्थायी व्यवस्थापन मात्र भएको स्पष्ट पारेको छ। उक्त क्षेत्रलाई १२ वर्षसम्म अस्थायी शवस्थलका रूपमा प्रयोग गरिने जनाइएको छ।

प्रतिक्रिया