काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार उनीहरू बाढी आएको समयमा कहाँ थिए र अहिले कस्तो अवस्थामा छन् भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।
विभागको रेकर्डअनुसार मानसरोवर र लाङटाङतर्फ गएका ३९४ पर्यटकमध्ये २९१ जना विदेशी र ९६ जना नेपाली छन् । उनीहरू विभिन्न गन्तव्यमा रहेकाले फोन सम्पर्क हुन नसकेको हुन सक्ने सूचना अधिकारी घिमिरेले बताए ।
‘उहाँहरू विभिन्न गन्तव्यमा हुनुहुन्छ होला, फोन नलागेका कारण सम्पर्कमा नआएको अवस्था हो,’ उनले भने ।
बाढी आएको समयमा पर्यटकहरू कुन स्थानमा थिए भन्नेबारे समेत जानकारी प्राप्त हुन नसकेको विभागले जनाएको छ ।
यसैबीच, रसुवाको स्याफ्रुबेँसीमा रहेका पर्यटक प्रहरी भने सबै सकुशल रहेको पर्यटन विभागले जनाएको छ ।
१० भदौ २०८३, बुधबार ०२:५४ मा प्रकाशित