भोटेकोशी बाढीमा बेवारिसे शव कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिने

nepalkuro.com

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीमा मृत्यु भएका तर हालसम्म पहिचान हुन नसकेका शवलाई कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिने भएको छ।

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट पोखरा ल्याइएका १०२ शवमध्ये सोमबारसम्म १६ शवको पहिचान गरी आफन्तलाई बुझाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए।

उनका अनुसार पहिचान हुन नसकेका बाँकी शवलाई डीएनए नमूना सङ्कलनसहित सम्पूर्ण कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्र व्यवस्थापन गरिनेछ। पछि डीएनए परीक्षणबाट आफन्तसँग मेल खाएमा पुनः पहिचान गरी शव बुझाउन सकिने गरी आवश्यक विवरण सुरक्षित राखिने उनले बताए।

पहिचान हुन नसकेका शवलाई ‘पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका’ अनुसार व्यवस्थापन गरिने जनाइएको छ। शव व्यवस्थापनका लागि सम्भावित स्थलको खोजी तथा आवश्यक व्यवस्थापकीय र प्राविधिक तयारीसमेत भइसकेको प्रजिअ गुरुङले बताए।

अस्पतालमा राखिएका सबै शवको परीक्षण भइसकेको छ। पहिचानका लागि शवका तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। शव खोजीका लागि पोखरा आएका आफन्तलाई खाना तथा बासको व्यवस्था गरिएको छ भने अस्पताल परिसरमा शव पहिचान सहायता कक्ष समेत सञ्चालनमा ल्याइएको छ।

बाढीले शवलाई विभिन्न जिल्लासम्म बगाएर पुर्‍याएका कारण पहिचान प्रक्रिया थप जटिल बनेको छ। कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न कठिन भइरहेको जनाइएको छ।

पहिचान तथा परीक्षणका लागि नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पोखरा ल्याइएको थियो। ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएको छ।

प्रतिक्रिया