सर्लाही – उधारोमा बिक्री गरिएको नगदे बाली उखुको भुक्तानी किसानका लागि सधैँको गलपासो बन्दै आएको छ। गत याममा अन्नपूर्ण चिनी उद्योगलाई उखु बिक्री गरेका किसानले छ महिना बितिसक्दा पनि पूर्ण भुक्तानी नपाएपछि समस्या झेलिरहेका छन्।
धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा खरिद गरेको उखुको भुक्तानी अझै सबै किसानलाई गरिसकेको छैन।
धन्कौल गाउँपालिका–३ का कैलाश पासवानले उद्योगलाई बिक्री गरेको ३०० क्विन्टल उखुको आंशिक रकम मात्र पाएको बताए। उनले ५० कट्ठा खेतमा उखु लगाएका छन्। त्यसमध्ये २० कट्ठा आफ्नो र बाँकी ठेक्कामा लिएको जग्गा हो।
उखु बिक्रीको रकम समयमा पाए ठेक्का रकम पनि समयमै बुझाउन सहज हुने भए पनि उद्योगले भुक्तानीमा ढिलाइ गर्दा साहुलाई ब्याज बुझाउनुपर्ने अवस्था आएको पासवानले बताए। “घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्याउनुपर्छ”, उनले भने, “बालबच्चाको लालनपालन, शिक्षादीक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ। तर उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ।”
केही समयअघि मात्र छोरीको विवाह गरेका पासवानले गर्जो टार्न उद्योगले पैसा नदिएपछि साहुमहाजनसँग सयकडा तीन ब्याजमा ऋण लिनुपरेको बताए। उनका अनुसार उद्योगबाट अझै ५६ हजार रुपैयाँभन्दा बढी लिन बाँकी छ।
पाउने रकमको टुङ्गो नहुँदा उखुखेतीप्रति नै निराशा बढेको उनले बताए। उद्योगले भुक्तानीका क्रममा दिएको दुःखका कारण आफूले यसपटक ४०० क्विन्टल उखु नगदमा बिक्री गरेको उनको भनाइ छ। नगदमा बिचौलियाले किसानबाट प्रतिक्विन्टल ३५ देखि ४० रुपैयाँ कम मूल्यमा उखु खरिद गरी आफ्नै नाममा उद्योगलाई बिक्री गर्ने गरेको उनले बताए। यसबाट किसानले पाउने अनुदान रकमसमेत दुरुपयोग हुँदै आएको उनको गुनासो छ।
धन्कौल–२ का पाँचु सहनीको पनि आयआर्जनको मुख्य आधार खेतीपाती नै हो। उनी ठेक्कामा लिएको खेतमा उखु खेती गरी उद्योगलाई बिक्री गर्दै आएका छन्। स्थानीयलाई सुविधा पुग्ने अपेक्षासहित सञ्चालनमा आएको अन्नपूर्ण चिनी उद्योगले पटकपटक किसानलाई दुःख दिएको उनको गुनासो छ।
सहनीका अनुसार उद्योगले २०७४ सालमा आफूले बिक्री गरेको उखुको केही रकम अझै भुक्तानी गरेको छैन। सोही समयमा उद्योग धरासायी भएको थियो। सुरुका उद्योगपतिले उद्योग नै बिक्री गरेपछि किसानले थप समस्या भोग्नुपरेको उनले बताए।
“माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भने, पछि विवरण फेला परेन भनेर दिँदै दिएन”, उनले भने।
त्यसपछि आफूले रौतहट तथा सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु बिक्री गरेको उनले बताए। यस वर्ष उद्योगले मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाहिरका उद्योग नआएको उनको भनाइ छ।
त्यसपछि आफूहरू इच्छाविपरीत बाध्य भएर अन्नपूर्ण चिनी उद्योगलाई उखु बिक्री गर्न पुगेको सहनीले बताए। यसपटक बिक्री गरेको करिब ५०० क्विन्टल उखुको भुक्तानीसमेत पाउन बाँकी रहेको उनले बताए। नजिकै हरिवनमा रहेको उद्योगले उखु बिक्री गरेको १५ दिनमै भुक्तानी गर्ने भए पनि अन्नपूर्णले किसानलाई दुःख दिएको उनको गुनासो छ।
अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा तीन हजार १८६ जना किसानबाट खरिद गरेको नौ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु क्रसिङ गरेको थियो।
उखु खरिदबापत उद्योगले किसानलाई ६१ करोड ६१ लाख २७ हजार ६५५ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा अझै करिब २२ करोड रुपैयाँ बाँकी रहेको देखिएको छ। किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानबिन समितिले उद्योगबाट करिब २२ करोड रुपैयाँ किसानले पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।
यता उद्योग प्रशासनले भने किसानलाई दैनिक रूपमा भुक्तानी गरिरहेको दाबी गरेको छ। उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको स्वीकार गर्दै कात्तिक मसान्तसम्म सबै भुक्तानी सक्ने योजना रहेको बताए।
उनका अनुसार दसैँअघि नै किसानको भुक्तानी गरिसक्ने गरी काम भइरहेको छ। तर, हालसम्म बाँकी रकममध्ये कति रकम किसानको खातामा दाखिला भइसकेको छ भन्ने यकिन तथ्याङ्क भने आफूहरूसँग नरहेको उनले बताए।