पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

nepalkuro.com

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनरुत्थान तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउन हाम्रो पात्रोका प्रयोगकर्ताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

हाम्रो पात्रो समुदायका तर्फबाट संकलित उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। प्रत्येक सहयोगदाताको योगदान औपचारिक रूपमा अभिलेखबद्ध होस् र उक्त सहयोग हाम्रो पात्रो समुदायको सामूहिक प्रयासका रूपमा चिनियोस् भन्ने उद्देश्यले सबै दाताहरूको नामावलीसमेत सरकारलाई बुझाइएको जनाइएको छ।

विदेशमा बसोबास गर्ने नेपालीहरूलाई राष्ट्रिय राहत अभियानमा सहज रूपमा सहयोग गर्न सकून् भन्ने उद्देश्यले हाम्रो पात्रोले उक्त अभियान सञ्चालन गरेको थियो। सहयोग रकम पठाउँदा कुनै पनि सेवा शुल्क नलिइएकाले प्रयोगकर्ताहरूले गरेको सम्पूर्ण योगदान राहत कोषमा पुगेको जनाइएको छ। हाम्रो पात्रोका संस्थापक तथा मुख्य कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले १ करोड २५ लाख रुपैयाँ हाम्रा प्रयोगकर्ताहरूको सामूहिक योगदान भएको बताएका छन्।

उनले भने, “यो १२.५ मिलियन रुपैयाँ हाम्रा प्रयोगकर्ताहरूको सामूहिक योगदान हो। हाम्रो पात्रोको भूमिका उहाँहरूको सहयोगलाई देशसम्म पुर्‍याउन मद्दत गर्नु मात्र थियो।”

नेपाललाई सहयोगको आवश्यकता परेको समयमा संसारभर रहेका नेपालीहरूले देखाएको सहयोगको तत्परता, एकता र उदारताप्रति आभार व्यक्त गर्दै उप्रेतीले रकमको परिमाण जति भए पनि सहयोग गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिएका छन्।

आफ्नो स्थापनाकालदेखि नै सूचना तथा डिजिटल सेवामार्फत नेपाली समुदायलाई जोड्दै आएको हाम्रो पात्रोले अप्ठ्यारो समयमा सामूहिक सहयोग जुटाउन पनि निरन्तर मद्दत गर्दै आएको जनाएको छ। हाम्रो पात्रो एप विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ।

प्रतिक्रिया