‘अमेरिकालाई नै जित्यौं भन्ने भ्रममा सत्ता खेलमा अल्झियौं, कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्यो’ : प्रचण्ड

nepalkuro.com

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूमा ‘अमेरिकालाई नै जित्यौं, नेपाली जनता विजयी भए’ भन्ने दिग्भ्रम पैदा हुँदा सत्ता केन्द्रित राजनीति बढेको र त्यसकै परिणामस्वरूप नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।

उमा भुजेल नेतृत्वको नेकपाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सत्ता समीकरण बनाउने र भत्काउने खेलमै कम्युनिस्ट शक्तिहरू बढी अल्झिँदा आन्दोलन कमजोर बनेको बताएका हुन्।

‘विजयी भयौं भन्ने मनोगत दिग्भ्रम दिमागमा आयो। अमेरिकालाई जित्यौं, नेपाली जनता विजयी भए भन्ने भ्रम पालेर प्रधानमन्त्री बन्ने, समीकरण बनाउने र भत्काउनेतिर मात्र केन्द्रित भयौं,’ प्रचण्डले भने।

उनले आफूहरू सत्ता र समीकरणको राजनीतिमा अल्झिएका बेला कम्युनिस्ट आन्दोलन कमजोर पार्ने शक्तिहरू सक्रिय भएको आरोपसमेत लगाए।

‘दुस्मनहरू कम्युनिस्ट सिद्धाउन लागे, त्यसको सबभन्दा भयानक अभिव्यक्ति २४ को विध्वंश हो,’ उनले भने।

प्रचण्डका अनुसार शान्ति प्रक्रियामा आएपछि कम्युनिस्ट आन्दोलन आफ्नो दीर्घकालीन रणनीतिबाट विचलित हुँदै तत्कालीन कार्यनीति र सत्ता समीकरणमा केन्द्रित हुन पुग्यो। आफूहरू रणनीतिबाट विचलित भएका बेला विरोधी शक्तिहरू नेपालको कम्युनिस्ट आन्दोलन सखाप पार्ने दिशामा लागेको उनको आरोप थियो।

‘शान्ति प्रक्रियामा आएपछि रणनीतिलाई नजरअन्दाज गर्‍यौं, कार्यनीतिमा अल्झियौं। सत्ता समीकरण बनाउने र भत्काउने कुरा नै हाम्रो रणनीति बन्न पुग्यो,’ उनले भने।

जनयुद्धका बेला भने आफ्नो पार्टीको स्पष्ट रणनीति रहेको उल्लेख गर्दै प्रचण्डले निरंकुशताको अन्त्य र जनजीविकाका मुद्दामा संघर्ष गर्ने लक्ष्यलाई केन्द्रमा राखिएको बताए।

‘जनयुद्धमा हुँदा रणनीति थियो– निरंकुशताको अन्त्य गर्ने र जनजीविकाका लागि संघर्ष गर्ने। पछिल्लो समयमा रणनीतिलाई कार्यनीति जस्तो बनाउँदा हामी चक्करमा फस्यौं,’ उनले भने।

प्रचण्डले पछिल्लो राजनीतिक अनुभवबाट कम्युनिस्ट आन्दोलनले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सत्ता प्राप्ति र समीकरणको गणितभन्दा दीर्घकालीन राजनीतिक रणनीति, जनजीविकाका मुद्दा तथा संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने संकेत गरेका छन्।

प्रतिक्रिया