गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको निधन

nepalkuro.com

काठमाडौँ – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा निधन भएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा मङ्गलबार अचेत अवस्थामा भेटिएका उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय बिर्ताको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले अचेत अवस्थामा रहेका उपाध्यायलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो।

तनहुँको भानु नगरपालिका–५ घर भएका उपाध्याय पछिल्लो समय काठमाडौँको कलङ्कीस्थित ढुङ्गेअड्डामा बस्दै आएका थिए। उनी २०२५ साल वैशाख १५ गते जन्मिएका थिए।

उपाध्यायले २०४८ साल फागुनमा गोरखापत्रबाट उपसम्पादकका रूपमा पत्रकारिता यात्रा सुरु गरेका थिए। लामो समय गोरखापत्रमा कार्यरत उनले गोरखापत्र दैनिकको कार्यकारी सम्पादक, गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य तथा सञ्चालक समिति सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए।

पछि उनी गोरखापत्र संस्थानको महाप्रबन्धक समेत बनेका थिए। पत्रकारिता तथा संस्थान व्यवस्थापनमा लामो अनुभव हासिल गरेका उपाध्यायको निधनले नेपाली पत्रकारिता क्षेत्रमा क्षति पुगेको छ।

प्रतिक्रिया