बाढीपहिरो प्रभावितका लागि पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा १० लाख १ हजार सहयोग

nepalkuro.com

काठमाडौँ – विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

प्रालिका अध्यक्ष दधीराम खरेलले बिहीबार उक्त रकम बराबरको चेक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला र महासचिव डेकनाथ गौतममार्फत हस्तान्तरण गरेका हुन्।

विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको प्रालिले जनाएको छ।

अध्यक्ष खरेलले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्का समयमा पीडित नागरिकको साथमा उभिनु सम्पूर्ण यातायात व्यवसायीको मानवीय दायित्व भएको बताए।

“विपद् कसैको व्यक्तिगत समस्या मात्र नभएर समाजको साझा पीडा हो,” उनले भने, “राज्यले सञ्चालन गरिरहेको राहत तथा उद्धार अभियानमा योगदान पुर्‍याउन व्यवसायी तथा मजदुरका तर्फबाट यो सहयोग गरेका हौँ।”

बाढीपहिरोका कारण धेरै परिवार विस्थापित हुनुका साथै सडक, पुल तथा यातायातका साधनमा ठूलो क्षति पुगेको छ। प्रालिले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको शीघ्र खोजी तथा सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।

प्रालिले विपद् प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि राज्य तथा सम्बन्धित निकायले सञ्चालन गरिरहेका अभियानमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने जनाएको छ।

प्रतिक्रिया