चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास तीव्र, विस्फोट गरेर बाटो खोल्ने प्रस्ताव

nepalkuro.com

रसुवा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर ढकाल र पार्टीको खानी तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपाने रसुवास्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा पुगेका छन् ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङसमेत थुनिएको छ । सुरुङभित्र फसेका कम्तीमा आधा दर्जन मजदुरको अझै उद्धार हुन सकेको छैन । उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाको टोली घटनास्थलमा खटिएको छ ।

उद्धारस्थलमा पुगेपछि सांसद ढकालले नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा बाँकी रहेको विस्फोटक सामग्री प्रयोग गरी सुरुङमा बाटो खोल्न सकिने प्रस्ताव अघि सारेका छन् ।

ढकालले सामाजिक सञ्जालमार्फत आफू र श्रीराम न्यौपाने चिलिमे आयोजनाको सुरुङ क्षेत्रमा पुगेको जानकारी दिँदै त्रिशूली थ्री ‘ए’ मा बाँकी रहेको सामग्री प्रयोग गरेर ब्लास्ट गरी बाटो खोल्न सकिने विषय नेपाली सेनालाई जानकारी गराइसकेको बताएका छन् ।

उनका अनुसार सुरुङको अवरुद्ध भाग मात्रै खोल्न सके उद्धार कार्य निकै सहज हुनेछ । अझै ५–६ जनालाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको उनले बताएका छन् ।

२१ जना सुरुङभित्रै उद्धारमा खटिएका

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास केही दिनदेखि निरन्तर भइरहेको छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन चुनौती भइरहेको छ ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् । २५० मिटर लामो सुरुङमध्ये हालसम्म करिब १०० मिटर भाग सफा गरिएको उद्धार टोलीले जनाएको छ ।

म्यानुअल रूपमा मात्रै उद्धार कार्य अघि बढाउन कठिन भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारीलाई उच्च प्राथमिकता दिइएको छ । एक्स्काभेटर पुर्‍याउन स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले शनिबारदेखि सडक निर्माणको काम अघि बढाइएको छ ।

त्यस्तै, सुरुङमार्फत नै एक्स्काभेटर लैजाने विकल्पमा पनि काम भइरहेको छ । त्यसका लागि सुरुङको करिब १०० मिटर भागमा थुप्रिएको माटो तथा भग्नावशेष हटाउने कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ ।

ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयाससमेत भइरहेको छ ।

भौगोलिक तथा प्राविधिक चुनौती रहे पनि उद्धार कार्य नरोकिएको अधिकारीहरूले बताएका छन् । पहुँच सडक विस्तार, आवश्यक उपकरण परिचालन र सुरुङभित्र थुप्रिएको भग्नावशेष हटाउने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्रतिक्रिया