नयाँ जीवनका अनेक सपना बोकेर कञ्चनपुरबाट धनगढी आएकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्युबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
पूजाको विवाह ६ महिना अघि भएको थियो । उनका परिवारले आत्महत्या भएको दाबी गरिरहेको छ भने माइती पक्षले हत्या भएको आरोप लगाएको छ । प्रहरीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिका–१, हातीथलाकी पूजा धानुकको विवाह धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग भएको थियो । दुवैले मागी विवाह गरेका हुन् ।विवाहपछि पूजा श्रीमान्, सासू–ससुरा, बाजे–बज्यै, नन्द र फुपूसँग एउटै घरमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन ११ गते अपराह्न करिब ५ बजे पूजालाई घरभित्र सिलिङको पङ्खामा साडीको पासो लगाएको अवस्थामा फेला परेको भन्दै उनका श्रीमान् भरत धामीले प्रहरीसमक्ष बयान दिएका छन् । पूजालाई पासो लगाएको अवस्थामा देख्नेबित्तिकै आफूले पासो काटेर तत्काल उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याएको तर त्यतिबेलासम्म प्रहरीलाई खबर नगरेको उनले बताएका छन् ।