काठमाडौँ — बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमति नलिई ड्रोन नउडाउन आग्रह गरेको छ।
प्राधिकरणले आइतबार सूचना जारी गर्दै भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा स्थानीय प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाइएको पाइएको भन्दै त्यस्ता गतिविधिमा रोक लगाइएको जनाएको हो।
प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय तथा निजी क्षेत्रका हेलिकप्टरहरू उद्धार र राहतका लागि निरन्तर परिचालन भइरहेका छन्। यस्तो अवस्थामा अनधिकृत ड्रोन उडाउँदा हेलिकप्टरसँग ठोक्किन सक्ने वा उद्धार उडानमा अवरोध पुग्ने भएकाले हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र प्रभावित क्षेत्रमा ड्रोन उडाउन पाइनेछ।
अनुमति नलिई ड्रोन सञ्चालन गर्ने वा खोज तथा उद्धार कार्यमा कुनै किसिमको बाधा सिर्जना गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्राधिकरणले विपद्को संवेदनशील अवस्थामा उद्धार टोलीको काममा असर नपर्ने गरी सम्बन्धित निकायको समन्वय र अनुमति लिएर मात्र ड्रोन प्रयोग गर्न सर्वसाधारण तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ।