वर्षासँगै बाढी–पहिरोको कहर, आठ जिल्लाका सडकखण्ड प्रभावित

nepalkuro.com

काठमाडौं – वर्षासँगै आएको बाढी, पहिरो, सडकमा जमेको लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान १० बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका विभिन्न सडकखण्ड प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोक हुँदै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने जनाइएको छ।

त्यसैगरी, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।

वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडकमा अत्यधिक हिलो र लेदो जमेका कारण सवारीसाधन सञ्चालन हुन नसकेको र उक्त क्षेत्रमा वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाइएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङ बजारस्थित अरनिको राजमार्ग पनि खहरे खोलाबाट आएको लेदो र ढुङ्गासहितको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड भदौ ५ गतेदेखि प्रभावित भएको जनाइएको छ।

यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

प्रहरीले निरन्तर वर्षासँगै बाढी, पहिरो र सडक कटानको जोखिम बढिरहेकाले प्रभावित तथा जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया