दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयलाई यातायात कार्यालयको शाखाका रूपमा सञ्चालन गर्ने गरी निर्णय गर्न लागिएको बताएका छन्।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरीमा आज आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा बोल्दै मुख्यमन्त्री आचार्यले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीले सहज र छिटो रूपमा सेवा पाउने विश्वास व्यक्त गरे।
उनले यातायात क्षेत्रको कामकारबाहीमा ढिलासुस्ती नगर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै जिम्मेवार, पारदर्शी र अनुशासित भएर काम गर्नुपर्ने आवश्यकता औँल्याए। सेवाग्राहीलाई अनावश्यक रूपमा कुराउने प्रवृत्ति अन्त्य गरी यथाशीघ्र सेवा उपलब्ध गराउन पनि उनले सुझाव दिए।
मुख्यमन्त्री आचार्यले यातायातसम्बन्धी कामकारबाहीमा कसैले प्रश्न उठाउने अवस्था आउन नदिन कर्मचारीले कानुनको पूर्ण पालना गर्नुपर्ने बताए।
सरकारले आगामी असोजदेखि १२ जिल्लाबाट सवारी पटके सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले थप छ जिल्लामा सवारी चालक अनुमतिपत्र नवीकरणलगायतका अधिकार प्रत्यायोजन गरिने बताए।
यातायात क्षेत्र प्रदेश सरकारको राजस्व संकलनको एकल अधिकार क्षेत्र भएकाले यस क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाह कायम गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए।