बाँके– बाँकेका दुई वटा बालसुधारगृह र एउटा कारागारबाट फरार भएका ३४० जनामध्ये एक वर्षको अवधिमा १७१ जना कैदी तथा बालबन्दी पक्राउ परेका छन्। जेनजी आन्दोलनका क्रममा गत वर्ष फरार भएका उनीहरूमध्ये अझै १६९ जना बालबन्दी तथा कैदीबन्दी सम्पर्कमा आउन सकेका छैनन्।
गत वर्ष भदौ २३ र २४ गते राति बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बालसुधारगृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधारगृह र नौबस्ता क्षेत्रीय कारागारबाट कैदी तथा बालबन्दी फरार भएका थिए।
जयन्दु बालसुधारगृहबाट भागेका ११५ जनामध्ये ६८ जना पक्राउ परेका छन् भने ४७ जना अझै फरार रहेका छन्। यस्तै, नौबस्ता बालसुधारगृहबाट फरार भएका ७८ जनामध्ये ४७ जना पक्राउ परेका छन् भने ३१ जनाको खोजी भइरहेको छ। नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये ५६ जना पक्राउ परेका छन्।
जयन्दु बालसुधारगृहका प्रमुख किशोर शर्माले आन्दोलनका समयमा सुधारगृहबाट भागेका ११५ बालबन्दीमध्ये ६८ जना पक्राउ परेको जानकारी दिए। उनका अनुसार केही फरार बालबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो भने केही आफैं सुधारगृहमा फर्किएका थिए।यस्तै, नौबस्ता बालसुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनका क्रममा सुधारगृहमा रहेका १७६ बालबन्दीमध्ये ७८ जना फरार भएको बताए। सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बालबन्दीको मृत्यु भएको थियो।
नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन्। कारागार प्रमुख दलबहादुर बस्नेतका अनुसार १८ जना भारतीय नागरिकसहित ९१ जना कैदी अझै सम्पर्कविहीन छन्।
आन्दोलनका बेला नौबस्ता क्षेत्रीय कारागारमा ५८५ जना कैदी रहेका थिए। फरार भएका कैदी तथा बालबन्दीको खोजीकार्य अझै जारी रहेको सम्बन्धित निकायले जनाएको छ।