काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न चुनौतीसँग जुध्न नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र परिचालन गरी खोज, उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिएको छ।
रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै प्रहरीले सूचना सङ्कलन तथा विश्लेषण, आवश्यक रणनीति निर्माण र उपलब्ध जनशक्ति, साधनस्रोत तथा प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी विपद् व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन भएका छन्। पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट प्रहरीले ६ हजार ८५३ जनाको उद्धार गरिसकेको छ भने ५ हजार १५ जना अझै बेपत्ता छन्।
कुकुर र ड्रोनबाट खोजी तीव्र
बाढीमा परी बेपत्ता भएकाको खोज तथा उद्धारका लागि नेपाल प्रहरीले विशेष टोली परिचालन गरेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरी चौबिसै घण्टा अनुगमन भइरहेको छ।
उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि परिवारजनबाट फोनमार्फत जानकारी आउने गरेको छ। प्राप्त विवरण सम्बन्धित प्रहरी युनिटमा पठाएर खोजी तथा उद्धारका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म केन्द्रमा आफन्तको खोज तथा उद्धारका लागि १ हजार ३५१ पटक अनुरोध प्राप्त भएको छ।
प्रभावित क्षेत्रमा तालिमप्राप्त केनाइन (कुकुर) टोली तथा जटिल भौतिक संरचनामा ड्रोन क्यामेरा प्रयोग गरी खोजी भइरहेको छ। केही दिनअघि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट ड्रोनको सहयोगमा २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ।
विदेशी नागरिकको खोज तथा उद्धारका लागि समेत प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ। विभिन्न देशका दूतावास, कूटनीतिक नियोग तथा विदेशी संस्थासँग बेपत्ता र मृतक विदेशी नागरिकसम्बन्धी सूचना आदानप्रदान भइरहेको छ।
वैज्ञानिक विधिबाट शव व्यवस्थापन
खोज तथा उद्धारसँगै पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापन पनि फोरेन्सिक विशेषज्ञको सहयोगमा भइरहेको छ।
प्रहरी प्रवक्ता काफ्लेले शवको संख्या बढ्दै जाँदा संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेकाले वैज्ञानिक विधि अपनाएर शव व्यवस्थापन भइरहेको बताए।
बाढीपछि बेपत्ता नेपाली तथा विदेशी नागरिकका परिवारलाई फेला परेका शव वा मानव अङ्गको पहिचान गर्न सहज होस् भनेर महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा डिएनए प्रोफाइलिङको कामसमेत भइरहेको छ।
लुटपाटदेखि गलत सूचनासम्म निगरानी
विपद्को मौका छोपी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी र गस्ती बढाएको छ।
सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त रहेका बेला विस्थापितका खाली घरमा चोरी तथा लुटपाट हुन नदिन विशेष निगरानी भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी राहत सङ्कलनका नाममा हुन सक्ने ठगी तथा सामाजिक सञ्जालमा फैलिन सक्ने गलत सूचना, अफवाह र भ्रामक समाचारप्रति पनि प्रहरीले निगरानी बढाएको छ।
प्रवक्ता काफ्लेले विपद्का बेला गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पुर्याउने व्यक्तिलाई कानुनी दायरामा ल्याइने बताए।
घाइतेको उपचारदेखि मानसिक तनाव न्यूनीकरणसम्म
बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिको उपचारमा समेत नेपाल प्रहरी सक्रिय छ। नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सकको टोली सुरुआती दिनदेखि नै प्रभावित क्षेत्रमा खटिएर उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
घाइतेलाई उपचार उपलब्ध गराउनुका साथै विपद्का कारण उत्पन्न हुन सक्ने मानसिक तनाव न्यूनीकरणका लागि पनि प्रहरी अस्पतालको विशेषज्ञ टोलीले सहयोग गरिरहेको छ।
प्रहरीले प्रभावित क्षेत्रमा ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिसकेको छ। ती कार्यक्रममा ४१ हजार २५७ जना सहभागी भएका छन्।
रसुवा, नुवाकोट र धादिङका ‘होल्डिङ सेन्टर’मा महिला तथा बालबालिकाविरुद्ध हुन सक्ने दुर्व्यवहार र हिंसा रोक्न महिला प्रहरी परिचालन गरिएको छ। महिला तथा बालबालिकाका समस्या र गुनासो सम्बोधनसँगै आवश्यक मनोपरामर्शसमेत प्रदान भइरहेको प्रहरीले जनाएको छ।
विद्यालयदेखि सडकसम्म सरसफाइ र पुनःस्थापनामा सहयोग
प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी प्रभावित नागरिकको दैनिकी सहज बनाउन सहजीकरण गरिरहेको छ।
बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापित नागरिकका घरमा सरसफाइ र मर्मतसम्भारका काममा प्रहरी टोलीसमेत खटिएको छ।
बाढीका कारण विभिन्न स्थानमा अवरुद्ध भएका सडकबारे समयमै सूचना प्रवाह गर्ने र वैकल्पिक मार्गको जानकारी दिएर यात्रुलाई सहजीकरण गर्ने कामसमेत भइरहेको प्रवक्ता काफ्लेले बताए।
आफ्नै २५ प्रहरी अझै सम्पर्कविहीन
भोटेकोशी बाढीको विपद्मा नेपाल प्रहरी संगठनले समेत मानवीय क्षति व्यहोरेको छ।
बाढीको सूचना प्राप्त भएलगत्तै नागरिकको जीउधनको सुरक्षाका लागि खटिएका २५ जना नेपाल प्रहरी अझै सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ठूलो मात्रामा थुप्रिएको हिलो, माटो र ढुङ्गा तथा पुनः बाढी आउन सक्ने जोखिमका बीच पनि प्रहरी प्रभावित क्षेत्रमा निरन्तर खटिरहेको छ।
प्रवक्ता काफ्लेले खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण तथा विस्थापित नागरिकको जीउधनको सुरक्षालगायतका बहुआयामिक चुनौती सामना गर्दै नेपाल प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न अग्रसर रहेको बताए।
उनका अनुसार प्रहरी आफ्नै दुःख–पीडा भुलाउँदै नागरिकलाई सर्वोपरि मानेर विपद्को समयमा उनीहरूको साथमा उभिएको छ।