कृष्णभीरमा ट्रयाक खोल्ने काम सुरु, भदौभित्र सडक सञ्चालन गर्ने लक्ष्य

nepalkuro.com

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ। दुई दिनसम्म रूख तथा बाँस काट्ने, झाडी फाँड्ने र ग्याबिन भत्काउने काम गरेपछि आज डाँडाको माथिल्लो भाग सफा गर्दै दुवैतर्फको तलबाट ट्रयाक खोल्ने काम सुरु गरिएको हो।

निर्माण कम्पनी शर्मा जेभीका साइड प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी ट्रयाक खोल्न थालिएको छ। माथिल्लो भागमा मजदुरले ग्याबिन भत्काउने तथा सफा गर्ने काम गरिरहेका छन्। सडकको छेउको भागबाट करिब सात मिटर पर ट्रयाक खोल्न लागिएको उनले जानकारी दिए।

उनका अनुसार ट्रयाक खोल्ने काम एक सातादेखि १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार दुई दिनसम्म सफाइको काम गरेपछि ट्रयाक खोल्ने काम अघि बढाइएको हो। सडकभन्दा करिब नौ मिटर अग्लो पहिलो डाँडा काटेर सडक खोल्न लागिएको हो। करिब ३५० मिटर लामो र सात मिटर चौडाइको ट्रयाक निर्माण गरिने उनले बताए।

यसअघि सञ्चालनमा रहेको करिब २०० मिटर लामो सडक भासिएर चिरा परेको छ। उक्त स्थानमा १० मिटर फराकिलो सडक रहेको थियो। त्रिशूली नदीले सडकको फेदमा रहेको मजबुत संरचनासमेत बगाएपछि सडक भासिएको हो।

भदौ १४ गते उक्त सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको थियो। सरकारले यथासक्य छिटो सडक सञ्चालन गर्न आवश्यक निर्णय तथा निर्देशन दिइसकेको छ। भदौ महिनाभित्रै कृष्णभीर खण्ड सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको आयोजनाले जनाएको छ।

सडक मर्मतसम्भार भएपछि २०६० सालदेखि उक्त खण्डमा यातायात सञ्चालन सहज हुँदै आएको थियो। सडकको दुवैतर्फ कडा चट्टान रहेको छ। भीरको बीच भागमा करिब ६० देखि ७० मिटर क्षेत्र भने केही कमजोर रहेको इन्जिनियर मिश्रले बताए।

गत वर्ष पनि सोही सडकको छेउपट्टिको भाग भासिएपछि मर्मतको काम भइरहेको थियो। अहिले पुनः सोही क्षेत्रमा समस्या आएपछि वैकल्पिक रूपमा डाँडा काटेर ट्रयाक खोल्ने काम अघि बढाइएको हो।

प्रतिक्रिया