प्रतिनिधिसभा बैठक आज : पाँच महत्त्वपूर्ण विधेयकमाथि प्रक्रिया अघि बढाइँदै

nepalkuro.com

काठमाडौँ – सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज सोमबार अपराह्न १ बजे बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरदेखि महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने कार्यसूची तय भएको छ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिनेछन्।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

यससँगै सोमबार पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा विभिन्न विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।

आजको प्रतिनिधिसभा बैठकमा विधेयकहरूको प्रक्रिया अघि बढाउनेदेखि सरकारसँग प्रत्यक्ष जवाफ माग्ने विषयसम्मले प्राथमिकता पाएको छ।

प्रतिक्रिया