रसुवाको भोर्ले बजारमा खसेको पहिरो १७ घण्टापछि हटाइयो
nepalkuro.com
२५ भदौ २०८३, बिहिबार
रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै खसेको पहिरो १७ घण्टापछि हटाइएको छ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत भोर्ले बजारनजिक बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो। पहिरो हटाइएसँगै १७ घण्टादेखि सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
पहिरो पन्छाउन बिहीबार बिहानैदेखि सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुबेँसी र धुन्चे जोड्ने मुख्य सडक बाढीपछि अवरुद्ध भएपछि यो सडक वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ।
पहिरोका कारण काठमाडौं र नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै अलपत्र परेका थिए। राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधनसमेत पहिरोका कारण रोकिएका थिए।