भोटेकोशी बाढीको १० दिन : १ हजार २८७ शव फेला, ५ हजारभन्दा बढी सम्पर्कविहीन
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौँ– रसुवाको भोटेकोशीमा बाढी आएको आज (शुक्रबार) १० दिन पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार दिउँसो साढे १२ बजेसम्मको मानवीय तथा भौतिक क्षतिको अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार हालसम्म १ हजार २८७ जनाको शव फेला परेको छ भने करिब ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्। यसैबीच त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट थप दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६३, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५९ जना रहेका छन्। हालसम्म सनाखत भई आफन्तले बुझिलिएका शवको संख्या ९६ रहेको छ।
बाढी तथा विपद्बाट घाइते भएका ५ हजार ३२७ जनाको उपचार गरिएको छ। तीमध्ये विभिन्न अस्पतालमा ३०४ जना, नेपाली सेनाबाट ३ हजार २१९ जना र सशस्त्र प्रहरीबाट १ हजार ७८४ जनाले स्वास्थ्य उपचार पाएका छन्।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
उद्धार तथा राहत कार्यका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हालसम्म २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन भएका छन्। जसमा नेपाल प्रहरीका ७ हजार ९३१, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना छन्।
हालसम्म विभिन्न माध्यमबाट १३ हजार ९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले ४ हजार १५५, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७० जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले हालसम्म ८३० पटक हवाई उडान गरेको छ। शुक्रबार मात्रै सेनाले ४५ उडान गरेको प्राधिकरणको विवरणमा उल्लेख छ। त्यस्तै, काठमाडौँबाट निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरेका छन्। उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०३ रहेको छ।
बाढी प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा व्यवस्थापनका लागि काठमाडौँबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। सशस्त्र प्रहरीमार्फत नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा १६३ हवाई उडानबाट राहत सामग्री ढुवानी गरिएको छ।
सञ्चार संरचनामा पनि क्षति
बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवामा समेत ठूलो क्षति पुगेको छ। नेपाल टेलिकमका कुल १२० टावर प्रभावित भएकामा ११६ वटा सञ्चालनमा आइसकेका छन्। त्यस्तै, एनसेलका ८७ टावरमध्ये ७५ वटा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित ४ हजार ५२१ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये नुवाकोटमा ३ हजार १८१, धादिङमा १९९ र रसुवामा १ हजार १४१ जना रहेका छन्।
७ हजारभन्दा बढी निजी घरमा क्षति
प्रारम्भिक आकलनअनुसार बाढीबाट ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ। सरकारी संरचनातर्फ ४८ वटा संरचनामा क्षति पुगेको छ। तीमध्ये ३५ वटा पूर्ण र १३ वटा आंशिक क्षति भएका छन्।
त्यस्तै, १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा पूर्ण र सात वटा आंशिक क्षति भएका छन्। स्वास्थ्य संस्थातर्फ सात वटा संरचनामा क्षति पुगेकामा चार वटा पूर्ण र तीन वटा आंशिक क्षति भएका छन्।
सडकतर्फ ५५ किलोमिटर पूर्ण क्षति भएको प्रारम्भिक आकलन छ। ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकामा ३३ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।
विपद्का कारण भएको प्रारम्भिक आर्थिक क्षति तथा नोक्सानी रु. ३ खर्ब ८७ अर्ब ४५ करोड बराबर रहेको आकलन गरिएको छ। शीघ्र पुनर्लाभका लागि मात्रै रु. ७ अर्ब १५ करोड आवश्यक पर्ने प्राधिकरणको अनुमान छ।
सरकारले प्रभावित क्षेत्रमा नगद राहतसमेत उपलब्ध गराएको छ। रसुवा जिल्लामा रु. १ करोड, नुवाकोटमा रु. १ करोड, धादिङमा रु. ५० लाख तथा प्रभावित १५ पालिकालाई रु. १३ करोड ५० लाख नगद राहत उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ।