संसद् पुनर्स्थापनालाई राजनीतिक एजेन्डा बनाउने एमाले सचिव बस्नेतको भनाइ

nepalkuro.com

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौमा विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनालाई राजनीतिक एजेन्डा बनाउने बताएका छन्।

असोज ६ र ७ गते बस्ने एमाले केन्द्रीय समिति बैठकमा छलफल गरी यसबारे निर्णय लिइने उनले जानकारी दिए। भदौ २४ को घटनाको वार्षिकीका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बस्नेतले संसद् पुनर्स्थापना ‘क्रान्तिकारी कदम’ हुनसक्ने दाबी गरे।

एमालेले भदौ २३ र २४ गते भएका घटनालाई ‘प्रतिगमन’ भन्दै आएको छ। सोही सन्दर्भमा बस्नेतले संसद् पुनर्स्थापनाको विषयमा पार्टीभित्र छलफल हुने बताए।

“संसद् पुनर्स्थापनाको कुरा साथीहरूले सोध्नुभएको छ। यसपालिको बैठकमा हामी छलफल गर्नेछौँ। विगतमा प्रतिगमन सच्याउन आन्दोलनले स्वीकारेको थियो,” उनले भने, “अहिले पनि अब प्रतिगमन सच्याउनका निम्ति अघिल्लो संसद् पुनर्स्थापना एउटा क्रान्तिकारी कदम हुनसक्छ, जो सर्वोच्चमा विचाराधीन छ। त्यो हुन सक्छ, हामीभित्र बहसको विषय हो। लुकाउनुपर्ने केही छैन।”

बस्नेतले एमाले पुनर्गठनका नाममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषयको ‘च्याप्टर’ पनि बन्द भइसकेको दाबी गरे।

प्रतिक्रिया