कृष्णभीरमा वैकल्पिक ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म सडक सञ्चालन गर्ने लक्ष्य
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
चितवन – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान खोलिएको वैकल्पिक ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ ।
पहिरोका कारण सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान तथा झाडी फाँडेर ट्र्याक खोलिएको हो । अहिले उक्त ट्र्याकलाई थप फराकिलो बनाउने काम भइरहेको छ ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ । उनका अनुसार खुलेको ट्र्याकलाई अहिले थप फराकिलो बनाउने काम सुरु गरिएको हो ।
माथितर्फ भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने तथा डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्नेलगायतका धेरै काम बाँकी रहेको मिश्रले बताए । सर्वसाधारणका सवारीसाधन सञ्चालनमा आउन भने अझै केही समय लाग्ने उनको भनाइ छ ।
आगामी भदौ मसान्तसम्म सर्वसाधारणका सवारीसाधन सञ्चालन गर्न सक्ने गरी काम तीव्र पारिएको मिश्रले बताए । निर्माणका लागि आवश्यक प्राविधिक सामग्री तथा जनशक्तिको अभाव नरहेको भन्दै अब सडकलाई डिजाइनअनुसार निर्माण गर्न सहज भएको उनले जानकारी दिए ।
मिश्रका अनुसार हाल खोलिएको ट्र्याक मुख्यतः निर्माणमा संलग्न कामदार तथा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भइरहेको छ ।
नयाँ ट्र्याक खोल्ने काम निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले गरेको हो । कम्पनीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडकबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक खोलिएको छ ।
उनका अनुसार ट्र्याक खुलेपछि निर्माण सामग्री तथा इन्धन लैजान र कामदारको आवतजावत गर्न सहज भएको छ । तर उक्त ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको र सर्वसाधारणका लागि नयाँ सडक नखोलिएको उनले स्पष्ट पारे ।
अब स्लोप कटिङ, भित्ता काट्ने, ढुङ्गा थुपार्ने, ग्रेडिङ मिलाउनेलगायतका काम बाँकी रहेको नेपालले बताए । आपत्कालीन अवस्थामा भने सर्वसाधारण पैदल हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ ।
सडक निर्माणको काम अब दुवैतर्फबाट डिजाइनअनुसार अघि बढाइने जनाइएको छ । निर्माणलाई तीव्रता दिन आजदेखि थप भारी उपकरणसमेत परिचालन गरिएको छ । दुई एक्साभेटर थपिएसँगै एक्साभेटरको सङ्ख्या सात पुगेको छ । त्यस्तै, एक जेसिबी, एक लोडर र दुई बुल्डोजर परिचालन गरिएको छ । आवश्यकताअनुसार थप उपकरणसमेत परिचालन गर्दै जाने निर्माण कम्पनीले जनाएको छ ।