ग्यास अभावमा मन्त्री गौरी कुमारीको निरीहता : ‘उद्योगीहरूले धोका दिए, हामी लाचार भयौँ’

nepalkuro.com

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले निरीहता प्रकट गरेकी छन्।

बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकलाई सम्बोधन गर्दै उनले आफू निरीह भएर बस्नुपरेको दुखेसो पोखिन्।

‘उद्योगीहरूले गर्दा आज म निरीह भएर बसेको छु। निरीह र लाचार हुनुपरेको छ। ग्यास वितरणमा उद्योगीहरूले धोका दिए,’ उनले भनिन्, ‘उद्योगीहरूले गर्दा सरकारलाई समस्या भयो। पैसा तिरेर पनि ग्याससहितका उपभोग्य सामान पाइँदैन भनेको सुन्दा हामीलाई लाज लागेको छ। ५८ वटा बिक्रेताले ग्यास बेचिरहँदा पनि उपभोक्ताकहाँ पुर्‍याइरहेको छैन। हामी निरीह भएका छौँ।’

उनले उद्योगीहरूले नियमित रूपमा तीन–तीन हजार सिलिन्डर ग्यास काठमाडौंमा ल्याइदिएको भए अहिलेको समस्या नहुने तर्क गरिन्।‘अब हामी एउटा ग्यास उद्योग खोल्छौँ। आयल निगमले ग्यास उद्योग खोल्नै पर्छ। हामीसँग ग्यास उद्योग भएको भए घरघरमा पुर्‍याउन सक्थ्यौँ। यस्तो भन्ने मौका हुँदैनथ्यो। आयल निगमलाई ग्यास उद्योग खोल्नेतिर अब अघि बढाउँछौँ,’ उनले भनिन्।

मन्त्री गौरी कुमारीले अहिलेको समस्याप्रति निरीहता प्रकट गर्दै अगाडि जे निर्देशन हुन्छ, त्यहीअनुसार अघि जाने बताइन्। तर निर्देशन कसले गर्ने भन्ने विषयमा उनले स्पष्ट पारिनन्।

उनले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाइन्।

‘कालोबजारी रोक्न बजार अनुगमन तीव्र बनाएका छौँ। म अगाडि पनि प्रभावकारी रूपमा जान्छु,’ उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा सामान बेच्छौँ। नेपाल फुड्स ब्रान्डका खाद्यान्नको बिक्रीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौँ।’

प्रतिक्रिया