काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो, टोखा र तारकेश्वरमा बढी सतर्कता आवश्यक
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – बर्खायामसँगै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ । विशेषगरी टोखा र तारकेश्वर नगरपालिकाका डाँडाकाँडा तथा भिरालो क्षेत्रमा पहिरो खस्ने र जमिन चर्किने समस्या देखिन थालेको छ ।
लगातारको वर्षाका कारण जमिन कमजोर बन्दै जाँदा पहिरोको जोखिम बढेको हो । सडक तथा बस्ती आसपास पहिरो खस्न थालेपछि स्थानीयवासी जोखिममा परेका छन् । वर्षा अझै जारी रहेकाले थप पहिरो जान सक्ने भन्दै स्थानीयमा त्रास कायमै छ ।
काठमाडौँ उपत्यकामा पहिरोको जोखिम प्राकृतिक कारणसँगै अव्यवस्थित शहरीकरणका कारण पनि बढ्दै गएको स्थानीयको भनाइ छ । डाँडाकाँडा काटेर संरचना निर्माण गर्ने, प्राकृतिक पानीको निकास अवरुद्ध गर्ने, जथाभावी सडक खन्ने तथा भिरालो जमिनमा प्लटिङ गर्ने क्रमले जमिन कमजोर बनाएको उनीहरूको भनाइ छ ।
विशेषगरी टोखा र तारकेश्वर क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार भए पनि भू–जोखिम अध्ययन तथा उचित पूर्वाधार व्यवस्थापन हुन नसक्दा वर्षायाममा पहिरोको समस्या दोहोरिने गरेको स्थानीय बताउँछन् ।
स्थानीयवासीले पटक–पटक समस्या जानकारी गराउँदा पनि दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन् । पहिरो रोकथामका लागि तत्काल पर्खाल लगाउने, तारजाली राख्ने र सडक मर्मत गर्ने गरिए पनि जोखिमको मूल कारण नियन्त्रण हुन नसकेको उनीहरूको भनाइ छ ।
विज्ञहरूले जोखिमयुक्त क्षेत्रमा निर्माण नियन्त्रण, भू–प्राविधिक अध्ययन, प्राकृतिक पानीको निकास संरक्षण तथा अव्यवस्थित प्लटिङमा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् । वर्षा अझै जारी रहने भएकाले उपत्यकाका पहिरो सम्भावित क्षेत्रमा तत्काल अनुगमन र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।