आमाको उपचारका लागि गाइड बनेका अनोज, भोटेकोशीको बाढीले लग्यो ज्यान

nepalkuro.com

मोरङ– बेलबारी नगरपालिका–९ का २३ वर्षीय अनोज धमालाको जीवनका पछिल्ला केही वर्ष संघर्षमै बिते। मध्यमवर्गीय परिवारका कान्छा छोरा अनोजको काँधमा क्यान्सरसँग लडिरहेकी आमाको उपचार गराउने जिम्मेवारीसँगै आफ्नो भविष्य उज्ज्वल बनाउने सपना थियो। तर, गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीसँगै उनका सपना र रहर सधैँका लागि अधुरा बने।

शुक्रबार विराटनगरस्थित केसलिया घाटमा अनोजको भौतिक शरीर नभए पनि हिन्दु संस्कारअनुसार कुशको प्रतीक बनाएर अन्त्येष्टि गरिएको छ। घरको आशाको दियो र बिरामी आमाको सहारा गुमेपछि लक्ष्मीमार्ग क्षेत्र शोकमा डुबेको छ।

अनोजको पहिलो लक्ष्य वैदेशिक रोजगारी थियो। उनले इटहरीमा सानीआमाको घरमा बसेर मेहनतका साथ कोरियन भाषा पढे। भाषा परीक्षासँगै लिखित, मौखिक, स्वास्थ्य परीक्षण र सीप परीक्षणसमेत सबै चरण पार गरे।

“उसले सबै पास गरेको थियो, तर अन्त्यमा नाम निस्किएन,” उनका सानोबुबा राजन घिमिरेले सम्झिए, “कोरियाले माग गर्ने कोटा र भाग्यको खेल मिलेन। उनी पास भएर पनि विदेश जान पाएनन्।”

कोरिया जाने सपना पूरा नभएपछि केही समय निराश भए पनि अनोजले हार मानेनन्। बेरोजगार भएर बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचमा रहेका उनलाई उनका मामा सोमनाथ कट्टेलले नयाँ बाटो देखाए।

काठमाडौंमा सोमनाथको सम्राट टुर एण्ड ट्राभल्स एजेन्सी थियो। मामाले भान्जालाई आफ्नै ट्राभल्समा काम गर्न बोलाए। अनोजले त्यहाँ काम थालेको जम्मा ६ महिना भएको थियो। उनी विशेषगरी चीनको मानसरोवर तथा कैलाश पर्वत क्षेत्र जाने पर्यटकका लागि गाइडको काम गर्थे।

एकपटकको मानसरोवर–कैलाश यात्रामा करिब २२ दिन लाग्थ्यो। एकै यात्राबाट अनोजले झन्डै डेढ लाख रुपैयाँसम्म कमाउँथे। तर, त्यो कमाइ उनको व्यक्तिगत विलासिताका लागि थिएन। क्यान्सरबाट पीडित आमा नैनकलाको उपचारमै उनको आम्दानीको ठूलो हिस्सा खर्च हुन्थ्यो।

“अनोजले काम थालेपछि आमाको उपचारमा निकै ठूलो राहत पुगेको थियो,” सानोबुबा राजनले भने, “बुबाको गाउँमा सानो किराना पसल छ। दाजु अनिस निजी विद्यालयमा पढाउनुहुन्छ। अनोजको कमाइ नै आमाको औषधोपचार गर्ने मुख्य स्रोत बनेको थियो।”

गत भदौ १० गते कैलाश मानसरोवरतर्फ जाने क्रममा अनोज पनि भोटेकोशीको बाढीमा परे। मामा सोमनाथ र भान्जा अनोजसहित पर्यटक चढेको गाडी भोटेकोशीको भेलमा परेको सूचना परिवारले पाएको थियो।

सानोबुबा राजेन्द्रका अनुसार गाडी भोटेकोशीको पहिलो भँगालोमै परेको सूचना आएपछि उनीहरूको खोजी तीव्र पारिएको थियो। तर, लामो समयसम्म पनि उनीहरूको शव फेला नपरेपछि परिवारले उनीहरू जीवितै फर्कने आशा क्रमशः गुमाउँदै गयो।

आमा नैनकला आफैँ क्यान्सरको गम्भीर बिरामी भएकाले परिवारले अनोज बेपत्ता भएको खबरसमेत केही दिन लुकाएको थियो।

“हामीले अनोज चीनतिरै छ, उतै व्यस्त छ भनेर टार्दै आयौँ,” राजेन्द्रले भने, “तर गाउँभरि हल्ला भयो। जनप्रतिनिधिहरू घरमा सोधपुछ गर्न आउन थाले। अन्त्यमा लुकाउन सक्ने अवस्था रहेन र उनलाई सत्य सुनाउनुपर्‍यो।”

आफ्नो कान्छो सन्तान, जसले उपचारका लागि दिनरात नभनी काम गरिरहेको थियो, उसको मृत्युको खबर सुन्दा बिरामी आमाको अवस्था कस्तो भयो होला भन्ने कल्पनाले मात्रै पनि परिवार र छिमेकी भावुक बनेका छन्।

हिन्दु संस्कारअनुसार लामो समयसम्म बेपत्ता भई फेला नपरेका व्यक्तिको कुशको प्रतीक बनाएर दाहसंस्कार गर्ने चलन छ। अनोजका मामा सोमनाथको तीन दिनअघि विराटनगरमा अन्त्येष्टि गरिएको थियो भने अनोजको शुक्रबार केसलिया घाटमा अन्तिम संस्कार गरिएको हो।

बेलबारी–९ को लक्ष्मीमार्ग क्षेत्र अहिले शान्त छ। तर, त्यो शान्तिभित्र परिवारको पीडा र छटपटी छ। कोरिया जाने सपना बोकेका अनोज आमाको क्यान्सर निको पार्ने अठोटसहित गाइड बनेका थिए। अन्ततः केसलिया घाटमा दन्किएको कुशको आगोले उनका सपना मात्र जलाएन, परिवारको एउटा आशा र सहारा पनि सदाका लागि खोसेको छ।

प्रतिक्रिया