भोटेकोशी बाढीमा बेपत्ता एकै परिवारका पाँच सदस्य नभेटिएपछि अन्तिम संस्कार गर्ने निर्णय
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
काठमाडौँ– भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका एकै परिवारका पाँच सदस्य लामो समयसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको छ।
पत्रकार निराजन पौडेलका बुबा, आमा, काका, काकी र बहिनी बाढीपछि बेपत्ता भएका थिए। निरन्तर खोजी गर्दा पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले परम्पराअनुसार काजकिरिया तथा अन्तिम संस्कारको धार्मिक विधि सुरु गर्ने निर्णय गरेको हो।
पीडित परिवारका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–लोलाङस्थित बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा अन्तिम संस्कारसम्बन्धी धार्मिक विधि सम्पन्न गरिनेछ।
बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि बेपत्ता आफन्तको कुनै अत्तोपत्तो नलागेपछि परिवार काजकिरियामा बस्न लागेको हो।
निराजन पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू अन्तिम संस्कार गर्ने निर्णयमा पुगेको जानकारी दिएका छन्।
उनले लेखेका छन्, “भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी, बहिनीको खोजी कार्य गर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ।”
परिवारले अन्तिम संस्कारको धार्मिक विधि काठमाडौँको तारकेश्वर नगरपालिका–लोलाङ, बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा गरिने जनाएको छ।