चितवनमा पशुमा रेविजको सङ्क्रमण पुष्टि, रत्ननगरका तीन वडामा उच्च सतर्कता

nepalkuro.com

चितवन – पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेविजको सङ्क्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजका लक्षण देखिएपछि गरिएको परीक्षणमा रत्ननगर नगरपालिका वडा नम्बर ९ र १० का नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको हो। पछि वडा नम्बर १६ मा समेत सङ्क्रमण देखिएको जनाइएको छ।

पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रेविजको सङ्क्रमण पुष्टि भएको हो। रेविज लागेका गाईभैँसीमा अत्यधिक र्‍याल काढ्ने, टाउको भित्तामा ठोक्ने, मानिस वा अन्य जनावरलाई टोक्न खोज्ने, पानी तथा घाँस खान नखोज्ने, दूध उत्पादन घट्ने र अन्ततः मर्ने जस्ता लक्षण देखिन सक्छन्।

कुकुर र बिरालामा रेविजविरुद्धको खोप नियमित रूपमा लगाइए पनि अन्य पशुचौपायमा यसको खोप व्यापक रूपमा प्रयोग नहुने गरेको छ। सङ्क्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा पालिएका पशुचौपायमा रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

डा. न्यौपानेका अनुसार रेविज लाइसा नामक भाइरसका कारण लाग्ने रोग हो। जिल्लाका अन्य पालिकामा समेत सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेकाले पशुपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार नगरपालिकाका विभिन्न वडामा पालिएका पशुमा रेविजको लक्षण देखिएको छ। शङ्कास्पद पशुका नमूना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको छ।

चालु आर्थिक वर्षमा रत्ननगरबाट चारवटा नमूना सङ्कलन गरिएको जनाइएको छ। तीमध्ये दुईवटा नमूनामा रेविजको सङ्क्रमण पुष्टि भइसकेको छ भने अन्य दुई नमूना परीक्षणका लागि पठाउने तयारी गरिएको छ। पशु मरेपछि आवश्यक नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाउने गरिएको चिकित्सक राजभण्डारीले जानकारी दिइन्।

उनका अनुसार सङ्क्रमणका लक्षण देखिएको करिब नौदेखि १० दिनभित्र पशु मर्ने गरेको छ। रत्ननगरका वडा नम्बर ९, १० र १६ मा रेविजको सङ्क्रमण देखिएको हो। उक्त क्षेत्रमा न्याउरी मुसा र स्यालजस्ता जङ्गली जनावरको टोकाइबाट रोग सरेको हुन सक्ने अनुमान गरिएको छ।

सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा जोखिममा परेका मानिसलाई रेविजविरुद्धको खोप दिन थालिएको छ। कुकुर तथा जङ्गली जनावरको टोकाइबाट सर्न सक्ने भएकाले जङ्गल आसपासका क्षेत्रमा बसोबास गर्ने तथा पशुपालन गर्ने किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

पशु चिकित्सकहरूले जनावरले टोकेको वा चिथोरेको अवस्थामा घाउ भएको स्थानलाई तुरुन्तै कम्तीमा १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुन सुझाव दिएका छन्। त्यसपछि चिकित्सकको सल्लाहअनुसार रेविजविरुद्धको खोप तोकिएको तालिकाअनुसार लगाउनुपर्ने बताइएको छ।

घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने तथा शङ्कास्पद वा अस्वाभाविक व्यवहार देखाउने पशुलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित रूपमा राखेर तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि पशुपालकलाई आग्रह गरिएको छ।

प्रतिक्रिया