बाजुरामा अविरल वर्षापछि पहिरो, सडक र विद्युत् सेवा अवरुद्ध

nepalkuro.com

बाजुरा– शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा बाजुराको जनजीवन प्रभावित भएको छ। पहिरोका कारण सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड तथा जिल्लाभरको विद्युत् सेवा अवरुद्ध भएको हो।

लगातारको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट ठूलो पहिरो खसेपछि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सडक दुई दिनदेखि अवरुद्ध हुँदा सदरमुकाम मार्तडीबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन्। जसका कारण जिल्लाको यातायात सेवा ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार सडक खुलाउन आइतबारदेखि नै जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरिएको थियो। तर, दिउँसो पुनः भारी वर्षा भएपछि काम रोकिएको थियो। सोमबार बिहानदेखि सडक विभागका एक जेसीबी र एक स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भइरहेको उनले बताए।

पहिरोले ३२ विद्युत् खम्बा ढले

अविरल वर्षासँगै आएको पहिरोले ३२ वटा विद्युत् खम्बा ढालेपछि शनिबार रातिदेखि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।

बडीमालिका नगरपालिका–९ अन्तर्गत सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरोले विद्युत् खम्बा ढालेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ। कार्यालयका अनुसार सुवाकाँधमा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन्। शनिबार राति करिब ९ बजेदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएको हो।

अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि आइतबारदेखि नै प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएको कार्यालयले जनाएको छ। अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा रहे पनि पहिरोका कारण विद्युत् आपूर्ति प्रभावित भएको हो।

विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन्। सरकारी तथा गैरसरकारी कार्यालयका सेवा प्रवाहसँगै विद्युत्बाट सञ्चालन हुने दैनिक कामकाजसमेत प्रभावित भएको छ।

अवरुद्ध सडक तथा विद्युत् सेवा सञ्चालनका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला प्रभावित क्षेत्रमा खटिएका छन्। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार सडक खुलाउन राप्काबाट सडक विभागका दुई वटा मेसिन ल्याएर मर्मत तथा पहिरो पन्छाउने काम भइरहेको छ।

यसैबीच, बडीमालिका नगरपालिका–८ र ९ का विभिन्न स्थानमा आइतबार पहिरो खस्दा दुई वटा घर, चार वटा गोठ, एक गाईगोठ तथा एक पक्की घरमा क्षति पुगेको छ।

विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका प्राविधिकसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत परिचालन गरिएको छ।

प्रतिक्रिया