काठमाडौँ — नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडाबाट खसेको बरफ र चट्टानसहितको हिमपहिरो नै चीनको ग्यिरोङ क्षेत्रमा ठूलो जनधनको क्षति हुने गरी आएको हिलो–गेग्रानयुक्त बाढीको मुख्य कारण रहेको चिनियाँ अधिकारीहरूले निष्कर्ष निकालेका छन्।
चिनियाँ अधिकारीका अनुसार गत बुधबार बिहान करिब ५ हजार २०० मिटर उचाइबाट हिमपहिरो खसेको थियो। तीव्र गतिमा तल झरेको हिमपहिरोले पहाडको ठूलो भाग काट्दै ढुङ्गा, माटो, बरफ र हिउँ मिसिएको लेदो बगाएको थियो।
विशेषज्ञहरूको अध्ययनअनुसार हिमपहिरो करिब ४ हजार मिटर उचाइसम्म झरेपछि नदीमा मिसिएको थियो। त्यसपछि हिलो र गेग्रानसहितको बाढी सहायक नदीको मार्ग हुँदै करिब २२ किलोमिटर तल रहेको चीनको ग्यिरोङ बन्दरगाहसम्म पुगेको थियो।
चिनियाँ वैज्ञानिकहरूले उक्त बाढीले करिब सात मिनेटमै २० किलोमिटर दूरी पार गरेको आकलन गरेका छन्। करिब १ हजार ८०० मिटर उचाइमा रहेको ग्यिरोङ बन्दरगाहसम्म आइपुग्दा बाढीले ठूलो क्षेत्र प्रभावित बनाएको थियो।
चिनियाँ अधिकारीका अनुसार हिलोयुक्त बाढीका कारण करिब ०.७ वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको छ। चीनतर्फ २७ वटा भवन तथा विभिन्न संरचना र पूर्वाधारमा क्षति पुगेको जनाइएको छ। नेपालतर्फ भने रसुवा र नुवाकोटका हजारौँ भवन तथा संरचनामा क्षति पुगेको विवरण छ।
यो निष्कर्ष चीनको विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय जोखिम तथा वातावरणसम्बन्धी संस्थाको क्रायोस्फियर आपत्कालीन विपद् प्रतिक्रिया टोलीले गरेको अध्ययनबाट निकालिएको हो। वैज्ञानिकहरूले भू–उपग्रहबाट प्राप्त रिमोट सेन्सिङ तथ्यांक, घटनास्थलबाट प्राप्त सूचना तथा स्थलगत अध्ययनलाई आधार बनाएका छन्।
ग्यिरोङ बन्दरगाहमा उद्धार तीव्र
यसैबीच, ग्यिरोङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। उद्धार टोलीले विभिन्न दिशाबाट प्रभावित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
विपद् उद्धार मुख्यालयका उपकमाण्डर तथा क्षेत्रीय सरकारका उपाध्यक्ष रेन वेईका अनुसार बन्दरगाहको पूर्वी भागबाट पहाडी बाटो खोल्न उद्धार टोली सफल भएको छ। बाटो खुलेसँगै अग्निनियन्त्रक तथा उद्धारकर्मीहरू डोरीको सहायताले प्रभावित क्षेत्रमा झरेर खोजी तथा उद्धार सुरु गरेका छन्।
उद्धारसँगै सम्भावित थप पहिरो तथा बाढीको जोखिम भएका क्षेत्रको निगरानी पनि जारी राखिएको छ। प्राकृतिक विपद्को प्रभाव नेपालबाट सुरु भएर सीमापारि चीनसम्म पुगेको देखिएपछि दुवै देशका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ।
विशेषज्ञहरूको निष्कर्षले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमपहिरो कसरी तीव्र गतिमा हिलो–गेग्रानयुक्त बाढीमा परिणत हुँदै सीमापारि चीनको ग्यिरोङसम्म पुगेको थियो भन्ने घटनाक्रमसमेत स्पष्ट पारेको छ।