काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकका आफन्तजनले खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन आग्रह गरेका छन्।
आफन्तको खोजीमा त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा मानिस पुग्ने गरेका छन्। नेपाली सेनाले उद्धार गरी ल्याएका नागरिकलाई सोही स्थानमा राखिने भएकाले बेपत्ता आफन्तका परिवारजन त्यहाँ पुगेर आफ्ना आफन्तबारे जानकारी लिने तथा खोजीका लागि विवरण उपलब्ध गराउने गरेका छन्।
बेपत्ता आफन्त भेटिने आशामा सैन्य तालिम केन्द्र पुगेकाहरूले बाढी प्रभावित रसुवाको माथिल्लो भेगमा अझै केही व्यक्ति उद्धारको प्रतीक्षामा रहेको हुनसक्ने भन्दै सम्भावित सबै क्षेत्रमा छिटो र प्रभावकारी खोजी अभियान सञ्चालन गर्न आग्रह गरेका छन्।
विदेशी नागरिकका आफन्त पनि खोजीमा
बाढीमा नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत बेपत्ता भएकाले उनीहरूका आफन्त पनि त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा पुग्ने गरेका छन्। केही आफन्तले बेपत्ता व्यक्तिको फोटोसहित खोजीका लागि सम्बन्धित निकायमा जानकारी गराइरहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण पाँच सयभन्दा बढी विदेशी नागरिकसहित करिब चार हजार व्यक्ति सम्पर्कविहीन रहेका छन्।
प्राधिकरणका अनुसार हालसम्म २७३ जना विदेशी नागरिकसहित ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षाकर्मी परिचालन भइरहेका छन्। आफन्तहरूले भने उद्धारको सम्भावना बाँकी रहेका स्थानमा खोजी कार्यलाई अझ तीव्र बनाउन माग गरेका छन्।