साल्ट ट्रेडिङद्वारा बाढीपहिरो प्रभावितका लागि ६० लाख सहयोग
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु. ६० लाख सहयोग गरेको छ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु. ५० लाख र कर्मचारीको तलबबाट कट्टा गरी रु. १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको जानकारी दिइन्।
कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ।
विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै कर्पोरेशनले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।