मेट्रोपोलिटन ओपेरामा सर्पको समेत अडिसन, ‘प्रिन्सेस’ले पायो भूमिका
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
न्युयोर्क– न्युयोर्कको प्रतिष्ठित मेट्रोपोलिटन ओपेरामा मञ्चन हुने मोजार्टको क्लासिक ओपेरा ‘कोसी फान तुत्ते’को नयाँ संस्करणका लागि कलाकारसँगै सर्पको समेत अनौठो अडिसन लिइएको छ।
ओपेरामा छोटो समयका लागि मञ्चमा उपस्थित हुने सर्पको भूमिकाका लागि आयोजित अडिसनमा विभिन्न सर्प सहभागी भएका थिए। अन्ततः ठूलो आकारको बोआ कन्स्ट्रिक्टर ‘प्रिन्सेस’ मुख्य भूमिकाका लागि छनोट भएको छ। त्यस्तै, दोस्रो अडिसनबाट छनोट गरिएको केही सानो आकारको खैरो बोआ कन्स्ट्रिक्टर ‘नाला’लाई प्रिन्सेसको अन्डरस्टडी बनाइएको छ।
ओपेराको नयाँ प्रस्तुतिमा सर्प नर्तकी तथा हेरचाहकर्ताको भूमिका निर्वाह गरिरहेकी पूर्व सर्कस तथा कार्निभल कलाकार जोज जिग्फेल्डले सर्प छनोटको जिम्मेवारी सम्हालेकी थिइन्।
अडिसनका क्रममा जिग्फेल्डले सर्पलाई समातेर शरीर वरिपरि बेर्न लगाउने, टाउकोमाथि उठाउने तथा मञ्चमा प्रयोग हुने तीव्र प्रकाशमा उनीहरू कत्तिको सहज हुन्छन् भन्ने परीक्षण गरेकी थिइन्।
सर्पहरूको स्वभाव र व्यवहारसमेत मूल्याङ्कन गरिएको थियो। त्यस क्रममा जिग्फेल्डले उनीहरूको आँखामा प्रत्यक्ष हेरेर उनीहरूको प्रतिक्रिया र सहजता जाँच गरेकी थिइन्।
यसरी मानिस कलाकारको जस्तै सर्पका लागि समेत अडिसन लिएर मुख्य कलाकार र वैकल्पिक कलाकार छनोट गरिएको यो प्रस्तुति अहिले विशेष चासोको विषय बनेको छ।