बूढानीलकण्ठमा जिआइएसमा आधारित विद्यालय नक्साङ्कन सफ्टवेयर हस्तान्तरण

nepalkuro.com

काठमाडौँ – बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर हस्तान्तरण गरिएको छ।

नगरपालिकासँग शैक्षिक क्षेत्रमा सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सफ्टवेयरको फाइल हस्तान्तरण गरेका हुन्।

ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको आर्थिक सहयोग तथा ‘ज्ञान रिसर्च एन्ड लर्निङ रिसोर्स सेन्टर’को प्राविधिक सहयोगमा विगत केही वर्षदेखि नगरपालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको जिआइएसमा आधारित नक्साङ्कन र विद्यालयगत शैक्षिक सूचना व्यवस्थित गर्ने कार्य हुँदै आएको थियो।

यस क्रममा १९ वटा विद्यालयका सम्बन्धित शिक्षकलाई प्रविधि सञ्चालनसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रविधि निर्माण गर्नु मात्र नभई त्यसको प्रभावकारी उपयोग महत्वपूर्ण हुने बताए। उनले अब सम्बन्धित वडा तथा विद्यालयले सफ्टवेयरको उपयोग गर्ने विश्वास व्यक्त गरे।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले उक्त प्रविधिमार्फत देश तथा विदेशका जुनसुकै स्थानबाट नगरपालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको दूरी र विद्यालयसम्बन्धी विभिन्न विवरण हेर्न तथा बुझ्न सकिने जानकारी दिए।

ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक श्रेष्ठले शिक्षा क्षेत्रमा यो कार्य नवीन तथा उपलब्धिमूलक हुने बताउँदै नगरपालिकासँगको सहकार्य नमुना बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया