कृष्णभीरमा पहिरोपछि काठमाडौं पठाइयो ५३ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

nepalkuro.com

काठमाडौँ– कृष्णभीरमा पहिरोका कारण ग्यास बोकेका बुलेट काठमाडौं आउन नसकेपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ।

उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट सिलिन्डर भरेर बुधबार काठमाडौं पठाइएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ।

नेपाल ग्यास उद्योग, नारायणीबाट विभिन्न कम्पनीका ४ हजार ५४३ सिलिन्डर पठाइएको छ। जसमा एचपीका १ हजार २१३, नेपाल ग्यासका १ हजार ६७८, गीताका १४० र सागरका १ हजार ५१२ सिलिन्डर छन्।

यस्तै, धनुषास्थित नोबेल ग्यास उद्योगबाट सागर ग्यासका ५ हजार ६१८ सिलिन्डर भरेर काठमाडौं पठाइएको सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिए।

बारास्थित ग्यास वन (एनएल) उद्योगबाट सीताश्रीका १ हजार ६०९, जगदम्बा ग्यास उद्योगबाट मेट्रो एसटिसी र सूर्यका २ हजार १२१, लियो ग्यास उद्योगबाट उग्रचण्डी र श्रीमायाका ३ हजार १८१ तथा अम्बर ग्यास उद्योगबाट सिद्धार्थ र मेट्रो एसटिसीका १ हजार ९२ सिलिन्डर पठाइएको छ।

पर्सास्थित सुपर ग्यास उद्योगबाट हिमालका ६६३, मनोज ग्यास उद्योगबाट उग्रचण्डी र मेट्रो एसटिसीका १ हजार ३७ सिलिन्डर तथा मकवानपुरस्थित सहारा ग्यास उद्योगबाट एभरेष्ट र सुगमका ७ हजार ८७७ सिलिन्डर भरेर काठमाडौं पठाइएको छ।

त्यस्तै, चितवनस्थित नेपाल ग्यास उद्योग गण्डकीबाट एपी, नेपाल र गीता उद्योगका ७ हजार ३४८ सिलिन्डर, साइबाबा ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबाका ५ हजार ३३७ सिलिन्डर तथा बाबा ग्यास उद्योगबाट श्री ग्यासका ८ हजार ७१६ सिलिन्डर काठमाडौं पठाइएको छ।

नवलपुरस्थित जानकी ग्यास उद्योगबाट श्रीराम र ओमका २ हजार ६४२ तथा नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगबाट सागरका १ हजार ६८५ सिलिन्डर भरेर काठमाडौं पठाइएको छ।

कृष्णभीरमा पहिरोका कारण ग्यास बुलेटको आवागमन प्रभावित भएपछि उपत्यकामा सम्भावित अभाव हुन नदिन वैकल्पिक रूपमा विभिन्न जिल्लाका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाउने व्यवस्था गरिएको हो।

प्रतिक्रिया