फिक्कल – धेरैजसो युवा वैदेशिक रोजगारीका लागि विदेश जाने र कमाएको रकम सहरमा घरघडेरी तथा अनुत्पादक क्षेत्रमा खर्च गर्ने गरेका बेला इलामका एक युवा भने विदेशबाट कमाएको पैसा गाउँमै उत्पादनमूलक क्षेत्रमा लगानी गरेर सफल उद्यमी बनेका छन्।
इलामको चुलाचुली गाउँपालिका–१ चौबिसेका सन्देश नेम्बाङले दक्षिण कोरियामा पाँच वर्ष काम गरेर कमाएको रकम गाउँमै कृषि तथा पशुपालन व्यवसायमा लगानी गरेका छन्। उनले २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ दर्ता गरी व्यावसायिक रूपमा कृषि तथा पशुपालन सुरु गरेका हुन्।
हाल उनले आफ्नै दुई बिघा र १५ बिघा भाडाको गरी १७ बिघा जग्गामा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन्। कोरियामा रहँदा देखेको आधुनिक कृषि प्रविधि र सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यवसाय विस्तार गरेको नेम्बाङ बताउँछन्।
उनका अनुसार कृषि र पशुपालन व्यवसायबाट वार्षिक करिब ७० लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको छ।
“मैले आठ वर्षदेखि कृषि र पशुपालन व्यवसाय संयुक्त रूपमा गर्दै आएको छु। दुवै व्यवसायबाट वार्षिक ७० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छु,” उनले भने, “हामी धेरैले आफ्नै देशको महत्व नबुझेर विदेश गइरहेका छौँ। विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषि र पशुपालनबाट राम्रो आम्दानी लिन सकिने रहेछ।”
दैनिक १२० लिटरसम्म दूध उत्पादन
नेम्बाङको फार्ममा हाल पशुपालनतर्फ १७ वटा माउ भैँसी र सात वटा माउ गाई छन्। तीमध्ये ११ वटा लैना भैँसी र चार वटा लैना गाई रहेका छन् भने चार माउ भैँसी र तीन माउ गाई ब्याउने अवस्थामा रहेको उनले बताए।
फार्मबाट दैनिक १२० लिटरसम्म दूध उत्पादन हुने गरेको छ। उत्पादित दूध स्थानीय अन्नपूर्ण कृषि सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बिक्री हुँदै आएको छ।
फ्याटको मात्राअनुसार गाईको दूध प्रतिलिटर ६५ रुपैयाँ र भैँसीको दूध प्रतिलिटर ९० रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताए।
उनले पशुपालनसँगै मासु उत्पादनका लागि राँगापालनसमेत सुरु गरेका छन्। फार्ममा एक दर्जन साना राँगा रहेका छन्। पशुका लागि पाँच बिघा जमिनमा सुपर नेपियर जातको घाँस खेती गरिएको छ।
गाईभैँसीबाट निस्कने गोबरलाई मलका रूपमा आफ्नै कृषि व्यवसायमा प्रयोग गर्दा लागत घट्नुका साथै दोहोरो फाइदा हुने गरेको उनको भनाइ छ।
१० बिघामा तरकारीखेती
पशुपालनसँगै नेम्बाङले १० बिघा जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। फार्ममा गोलभेँडा, तितेकरेला, सिमी, बोडी, घिरौँला, काँक्रा, बैगुन र खुर्सानीलगायत विभिन्न तरकारी उत्पादन हुन्छ।
उनले उत्पादन गरेको तरकारी मुख्य रूपमा झापाको दमक बजारमा खपत हुँदै आएको छ। व्यापारीहरू फार्ममै पुगेर तरकारी खरिद गरी लैजाने गरेका छन्।
कृषि र पशुपालन व्यवसायबाट उनी आफूमात्र स्वरोजगार बनेका छैनन्, पाँच जना युवालाई समेत रोजगारी दिएका छन्। उनीहरूलाई खानबस्नको सुविधासहित मासिक २० हजार रुपैयाँका दरले तलब दिइने गरेको उनले बताए। आवश्यकताअनुसार दैनिक ज्यालादारीमा समेत कामदार लगाउने गरिएको छ।
उनको फार्ममा मासिक करिब सात लाख रुपैयाँको कारोबार हुँदै आएको छ।
२५ लाखबाट सुरु, अहिले करोडौँको व्यवसाय
नेम्बाङ २०७० सालमा ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया गएका थिए। पाँच वर्ष कोरियामा काम गरेपछि २०७५ सालमा स्वदेश फर्किए र २०७६ सालदेखि व्यावसायिक रूपमा कृषि तथा पशुपालन व्यवसाय सुरु गरे।
सुरुमा २५ लाख रुपैयाँ लगानीबाट थालेको व्यवसाय अहिले करोडौँको पुगेको उनले बताए।
“सहरमा बस्नकै लागि भए पनि पुग्ने जति त कोरियामा बसेर कमाएकै थिएँ। मलाई बसीबसी खान पुग्थ्यो,” उनले भने, “तर विदेशबाट कमाएको पैसा गाउँमै लगानी गरेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण दिन गाउँमै व्यवसाय सञ्चालन गरेको हुँ।”
आफ्नै ठाउँमा व्यावसायिक रूपमा कृषि कर्म गर्न सके विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ।
व्यवसाय प्रवर्द्धनमा सरकारी सहयोग
नेम्बाङको कृषि तथा पशुपालन व्यवसाय विस्तारमा संघीय र प्रदेश सरकारबाट पनि सुरुआती चरणमा सहयोग पुगेको थियो।
आर्थिक वर्ष २०७७/७८ मा कृषि ज्ञान केन्द्र इलामले तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत टनेल व्यवस्थापनका लागि ५० प्रतिशत साझेदारीमा चार लाख रुपैयाँ सहयोग गरेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत साझेदारीमा आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए।
ती अनुदानले व्यवसाय विस्तारमा महत्वपूर्ण सहयोग पुगे पनि त्यसयता भने कुनै निकायबाट सहयोग नपाएको उनको गुनासो छ।
“सुरुमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट राम्रै सहयोग पाएको थिएँ। त्यसबाट व्यवसाय प्रवर्द्धनमा धेरै मद्दत मिल्यो,” उनले भने, “तर त्यसयता कुनै निकायबाट केही सहयोग छैन। उद्यममा लागेका युवालाई राज्यले प्रोत्साहन गर्नुपर्छ।”
उनले राज्यका तीनै तहबाट सञ्चालन हुने कृषि तथा उद्यम प्रवर्द्धनका कार्यक्रम वास्तविक किसानसम्म पुग्नुपर्ने बताए। स्वदेशमै व्यवसाय गर्न चाहने युवालाई पहुँचका आधारमा नभई व्यावसायिक योजना र कामको आधारमा सहयोग उपलब्ध गराउनुपर्ने उनको धारणा छ।
बजार सहज, मूल्य अस्थिरता मुख्य चुनौती
नेम्बाङका अनुसार कृषि तथा पशुपालन व्यवसायमा बजारको खासै समस्या छैन। तर, कृषि उपज र दूधको मूल्यमा हुने अस्थिरता मुख्य चुनौती बनेको छ।
लगानी र उत्पादन लागत बढ्दै जाँदा पनि कृषि उपजको मूल्य स्थिर नहुँदा किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ। सरकारले वास्तविक किसानको पहिचान गरी उत्पादनको उचित मूल्य, बजारको सुनिश्चितता र व्यावसायिक किसानलाई आवश्यक प्रोत्साहन दिन सके स्वदेशमै कृषि क्षेत्रमा ठूलो सम्भावना रहेको नेम्बाङ बताउँछन्।