बझाङ– बझाङमा परम्परागत मेला–जात्राको संरक्षणसँगै नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने उद्देश्यले भलिबल प्रतियोगितालाई अनिवार्यजस्तै बनाउन थालिएको छ। ‘हरेलो’, ‘विरिजात’ र ‘बिर्सती’ जस्ता धार्मिक तथा सांस्कृतिक मेलामा युवाको आकर्षण बढाउन स्थानीय तह र आयोजकले भलिबल प्रतियोगिता सञ्चालन गर्न थालेका हुन्।
सुदूरपश्चिममा ‘हरेलो’, ‘विरिजात’ र ‘बिर्सती’लाई सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। पछिल्लो समय मेला–जात्रामा युवाको सहभागिता घट्दै गएपछि उनीहरूलाई मौलिक संस्कृति र परम्परासँग जोड्ने माध्यमका रूपमा खेलकुदलाई अघि सारिएको हो।
कुनै समय जात्रा र मेला भन्नासाथ देउडा, स्थानीय नाचगान तथा सन्देशमूलक सडक नाटकमा आकर्षण हुने बझाङीहरू अहिले भलिबल खेलतर्फ आकर्षित हुन थालेका छन्। स्थानीय युवादेखि शिक्षक, कर्मचारी तथा विभिन्न संस्थामा आबद्ध व्यक्तिसम्म प्रतियोगितामा सहभागी हुन थालेपछि मेला–जात्रा मनोरञ्जन र धार्मिक गतिविधिमा मात्र सीमित नरही खेलकुद तथा सामाजिक एकताको थलोसमेत बन्न थालेका छन्।
पछिल्ला दुई सातामा मात्रै बझाङका चार ठूला मेला भलिबलमय बनेका छन्। भदौ ७ गते मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीका अवसरमा जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुरले ‘जयपृथ्वी भलिबल कप–२०८३’ आयोजना गर्यो।
प्रतियोगितामा ३४ टोली मैदानमा उत्रिएका थिए। विजेताले रु. एक लाख १०५ नगदसहित ट्रफी तथा उपविजेताले रु. ६० हजार १०५ प्राप्त गरे।
जयपृथ्वी भलिबल कप सकिएको भोलिपल्टै सुर्मा गाउँपालिकामा लाग्ने सुर्मादेवी विरिजात सुरु भयो। मेलामा सधैँ आकर्षणको केन्द्र बन्ने फाग र माङ्गल नाचलाई यसपटक भलिबल प्रतियोगिताले ओझेलमा पारेको थियो। खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता हेर्न मैदानमा दर्शकको भीड लाग्यो भने मूल पूजा हुने पाँकरजडीमा समेत श्रद्धालुको उपस्थिति तुलनात्मक रूपमा कम देखियो।
रु. एक लाख ३५ हजार पुरस्कार राखिएको पुरुष भलिबलमा ३५ टोली सहभागी भए। महिलातर्फ रु. ६५ हजार प्रथम पुरस्कारका लागि दर्जनभन्दा बढी टोलीले प्रतिस्पर्धा गरे। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विरिजातमा देउडा, नृत्य, झाँकीसँगै ठाँकनाच प्रतियोगितासमेत आयोजना गरिएको थियो।
गएको शनिबारदेखि मष्टा गाउँपालिका–६, रिलुमा लागेको हरेलो मेलामा पनि भलिबल प्रतियोगिता आयोजना गरियो। पुरुषतर्फ २६ र महिलातर्फ १२ टोली सहभागी प्रतियोगितालाई ‘वडाध्यक्ष कप’ नाम दिइएको थियो। पुरुषतर्फ प्रथम हुने टोलीले रु. एक लाख र महिलातर्फ प्रथम हुने टोलीले रु. ६० हजार प्राप्त गरे।
एउटै मेलामा पुरुष र महिलाका गरी ३८ टोली मैदानमा उत्रिनुले बझाङमा भलिबलप्रतिको बढ्दो आकर्षण मात्र देखाउँदैन, महिला खेलाडीको सहभागिता र अवसरसमेत विस्तार हुँदै गएको संकेत गरेको छ।
बिर्सती मेलामा पनि भलिबलको आकर्षण
बझाङको बिर्सती मेलाले सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छ। दुर्गाथली र छबिसपाथिभेरा गाउँपालिकाको बीचमा पर्ने बिसौनाचौर क्षेत्रमा प्रत्येक वर्ष भदौ १८ देखि २१ गतेसम्म बिर्सती मेला मनाइन्छ।
संस्कृति लोप हुन नदिने उद्देश्यले यस वर्ष मेलाकै नामबाट आइतबारदेखि ‘बिर्सती’ भलिबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा पुरुषतर्फ १९ टोली सहभागी छन्।
पुरुषतर्फ प्रथम हुने टोलीले रु. दुई लाख दुई हजार १२१, द्वितीयले रु. एक लाख दुई हजार १२१, तृतीयले रु. ५० हजार १२१ र सान्त्वना हुने टोलीले रु. १५ हजार १२१ प्राप्त गर्नेछन्।
महिलातर्फ प्रथम पुरस्कार रु. ५० हजार १२१, द्वितीय रु. २५ हजार १२१, तृतीय रु. १२ हजार १२१ र सान्त्वना पुरस्कार रु. ६ हजार १२१ राखिएको छ। महिलातर्फ ११ टोलीले सहभागिता जनाएका छन्।
बझाङका गाउँघरमा मेला–जात्रा आफैँमा सामाजिक पुनर्मिलनका अवसरसमेत हुन्। रोजगारी, अध्ययन वा अन्य कारणले गाउँबाहिर रहेका युवाहरू मेला–जात्राका अवसरमा गाउँ फर्कने गर्छन्।
बिर्सती भलिबलका सहसंयोजक अर्जुन दौल्यालका अनुसार एउटा गाउँको टोली अर्को गाउँमा पुग्दा स्थानीय दर्शकले बाहिरबाट आएका खेलाडीको खेल हेर्ने अवसर पाउँछन्। खेलपछि प्रतिस्पर्धीहरू पुनः साथी बन्ने र आपसी सम्बन्धसमेत विस्तार हुने उनको भनाइ छ।
“जितको खुसी र हारको अनुभवसँगै आपसी चिनजान र सम्बन्ध पनि विस्तार हुन्छ,” उनले भने, “भलिबलको मैदान केवल खेल हुने ठाउँ होइन, सम्बन्ध गाँसिने ठाउँ पनि बन्न थालेको छ।”
पुरस्कारभन्दा ठूलो सहभागिता
बझाङका मेला–जात्रामा भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि पछिल्लो समय आकर्षक बन्दै गएको छ। कतिपय प्रतियोगितामा लाखौँ रुपैयाँसम्म पुरस्कार राखिँदा जिल्लाभित्रका मात्र नभई बाहिरी जिल्लाका खेलाडी तथा टोलीसमेत आकर्षित हुन थालेका छन्।
आयोजकका लागि पुरस्कारभन्दा ठूलो विषय प्रतियोगितामा हुने सहभागिता र मेलाको आकर्षण बन्न थालेको छ। भलिबल प्रतियोगिताले स्थानीय युवालाई खेल्ने अवसर, नयाँ खेलाडीलाई आफ्नो क्षमता परीक्षण गर्ने मौका र दर्शकलाई मनोरञ्जन दिने गरेको छ।
जयपृथ्वी बहुमुखी क्याम्पसका उपप्राध्यापक ईश्वर हमालका अनुसार प्रतियोगिताले मेलामा थप भीड आकर्षित गर्नुका साथै स्थानीय व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पारिरहेको छ।
“यसरी हेर्दा एउटा भलिबल प्रतियोगिताले खेलाडी, दर्शक, आयोजक र स्थानीय व्यवसायी सबैलाई जोड्ने काम गरिरहेको छ,” उनले भने।
महिला खेलाडी पनि मैदानमा
बझाङका मेला–जात्रामा महिला भलिबल प्रतियोगिता समावेश हुनु अर्को सकारात्मक पक्ष बनेको छ। परम्परागत रूपमा महिलाको सहभागिता सांस्कृतिक कार्यक्रम, देउडा वा धार्मिक गतिविधिमा बढी देखिने जिल्लामा अहिले महिला खेलाडी पनि भलिबलको मैदानमा प्रतिस्पर्धा गर्न थालेका छन्।
हरेलो, विरिजात र बिर्सती मेलामा मात्रै तीन दर्जनभन्दा बढी महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन्। यसले गाउँका किशोरी तथा युवतीलाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै प्रतिस्पर्धा, आत्मविश्वास र नेतृत्व विकासको अवसरसमेत दिएको छ।
संस्कृतिसँग खेलकुदको सहयात्रा
बझाङको मौलिक संस्कृति देउडा, जात्रा, मेला, नाचगान र धार्मिक परम्परासँग गहिरोसँग जोडिएको छ। पछिल्लो समय त्यसैमा भलिबल पनि थपिन थालेको छ। कतिपयले यसलाई परम्परामा आधुनिकताको प्रवेशका रूपमा हेरेका छन् भने कतिपयले नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा लिएका छन्।
मेला–जात्रामा बढ्दै गएको भलिबलको आकर्षणलाई व्यवस्थित गर्न सके बझाङमा खेलकुद पर्यटनको सम्भावनासमेत देखिने खप्तडछान्ना–५ का लोकराज जोशी बताउँछन्।
देशका विभिन्न ठाउँबाट टोलीहरू प्रतियोगितामा आउन थाले उनीहरूले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र धार्मिकस्थलसमेत अवलोकन गर्ने अवसर पाउने उनको भनाइ छ। खेलाडी तथा दर्शकको आवागमनले स्थानीय होटल, यातायात, पसल तथा अन्य व्यवसायमा आर्थिक गतिविधिसमेत बढाउन सकिने उनले बताए।
उनका अनुसार प्रतियोगितालाई व्यवस्थित, नियमित र पारदर्शी बनाउनु आवश्यक छ। मैदान, खेल सामग्री, रेफ्री, खेलाडीको सुरक्षा, पुरस्कार वितरण तथा व्यवस्थापनमा ध्यान दिन सके बझाङका मेला–जात्रामा हुने प्रतियोगिता राष्ट्रियस्तरका खेलकुद कार्यक्रमका रूपमा स्थापित हुन सक्ने सम्भावना छ।
जात्रैपिच्छे खेल, गाउँगाउँमा उत्साह
बझाङमा अहिले देखिएको दृश्य एउटा प्रतियोगिताको मात्र कथा होइन। जयपृथ्वी भलिबल कपमा ३४ टोली, हरेलो मेलामा ३८ टोली, बिर्सतीमा ३० टोली तथा विरिजातमा ३२ टोलीसम्म महिला–पुरुष भलिबल प्रतियोगितामा सहभागी हुनु मेला र खेलकुदबीचको सम्बन्ध बलियो हुँदै गएको संकेत हो।
सत्यवादी माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद जोशीका अनुसार कुनै समय जात्राको मुख्य आकर्षण देउडा र नाचगान हुने गरेकामा अहिले त्यससँगै भलिबलको आवाज पनि मिसिन थालेको छ।
“गाउँका खेल मैदानमा पोल गाडिँदा बालबालिकादेखि वृद्धसम्मको ध्यान त्यतातिर जान थालेको छ,” उनले भने, “खेलाडी मैदानमा पस्दा दर्शकको भीड बढ्छ। हरेक अंकसँगै हुटिङ हुन्छ। जित्दा खुसी र हार्दा अर्को पटक अझ राम्रो गर्ने उत्साह जन्मिन्छ।”
यसरी बझाङका मेला–जात्रामा भलिबल केवल मनोरञ्जनको माध्यम मात्र नभई नयाँ पुस्तालाई संस्कृति र समुदायसँग जोड्ने, महिला सहभागिता बढाउने तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने माध्यमका रूपमा स्थापित हुँदै गएको देखिन्छ।