फोहर बिक्रीबाट व्यास नगरपालिकालाई एक वर्षमा २७ लाख आम्दानी
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
तनहुँ – तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा २७ लाख रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रूपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्रीबाट नगरपालिकाले उक्त रकम आम्दानी गरेको हो । आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमार्फत चालु आर्थिक वर्षमा साविकको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।
फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आएको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताए । नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गर्दै आएको छ ।
एकै ठाउँमा सबै प्रकारका फोहर सङ्कलन गर्दा व्यवस्थापनमा समस्या हुने भएकाले कुहिने फोहर छुट्टै गाडीमा र नकुहिने फोहर छुट्टै गाडीमा सङ्कलन गर्ने गरिएको छ । फोहर बिक्रीबाट आम्दानी हुन थालेपछि नगरपालिकाको आन्तरिक स्रोत वृद्धि गर्न समेत सहयोग पुगेको लम्सालले बताए ।
फोहरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा खरिद गर्न सम्बन्धित मन्त्रालयमा सिफारिस गरिए पनि हालसम्म निर्णय हुन नसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
नगरपालिकाले नगरभित्रका विभिन्न टोल, वडा तथा विद्यालयमा पुगेर फोहर वर्गीकरण गर्ने तरिकाबारे नागरिकलाई जानकारी दिँदै आएको छ । कार्यालय परिसरमा सङ्कलन हुने नकुहिने फोहरमध्ये कागज, सिसा तथा प्लास्टिकजन्य वस्तु छुट्याएर बिक्री गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी कुहिने फोहरलाई दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने गरिएको छ । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक करिब ११ टन फोहर सङ्कलन हुने गरेको छ ।
शव पहिचान गर्न आउने आफन्तलाई निःशुल्क खाना र बस्ने व्यवस्था
यसैबीच रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मृत्यु भएकाहरूको शव पहिचान गर्न तनहुँ आउने आफन्तजनलाई होटल व्यवसायी सङ्घ तनहुँले निःशुल्क खाना तथा बस्ने व्यवस्था गर्ने भएको छ ।
सङ्घका अध्यक्ष गिरीबहादुर थापाले विपद्को पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताए । शव पहिचानका लागि आउने आफन्तजनलाई आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको र सोहीअनुसार सङ्घका सबै सदस्यलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
बाढीपछि विभिन्न स्थानबाट शव ल्याइएकाले पहिचानका लागि आफन्तजन तनहुँ आउनुपर्ने अवस्था रहेकाले उनीहरूको सहजताका लागि होटल व्यवसायीले यस्तो सहयोग गर्न लागेको सङ्घले जनाएको छ ।