केरुङमा रोकिएका नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश ल्याइने : परराष्ट्रमन्त्री खनाल

nepalkuro.com

नुवाकोट — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई वैकल्पिक मार्ग प्रयोग गरेर स्वदेश ल्याउने तयारी भइरहेको बताएका छन्।

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गे पुगेका मन्त्री खनालले प्रारम्भिक जानकारीअनुसार केरुङमा करिब एक हजार नेपाली रोकिएको सूचना प्राप्त भएको बताए। उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याउन वैकल्पिक मार्गको व्यवस्थापन भइरहेको उनको भनाइ छ।

मन्त्री खनालका अनुसार अवरुद्ध रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन तथा मुस्ताङको कोरला नाका प्रयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरिएको छ। वैकल्पिक नाका सञ्चालनमा आए केरुङमा रोकिएका नेपालीलाई स्वदेश फर्काउन सहज हुने सरकारको अपेक्षा छ।

यसैबीच, भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विदेशी विशेषज्ञको सहयोग लिन थालिएको मन्त्री खनालले बताए।

उनका अनुसार सुरुङ उद्धारमा थप प्राविधिक सहयोग आवश्यक देखिएपछि चीन र भारतका विशेषज्ञ टोलीलाई नेपाल बोलाइएको छ। उद्धार अभियानलाई प्रभावकारी बनाउन आवश्यक परे अन्य मुलुकबाट समेत प्राविधिक तथा मानवीय सहयोग लिने सरकारको तयारी रहेको उनले बताए।

‘विश्व समुदायबाट सहयोगका प्रतिबद्धता आइरहेका छन्, आवश्यकता र परिस्थितिअनुसार सहयोग लिन्छौँ,’ मन्त्री खनालले भने।

बाढीबाट सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र यातायात पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया