भोटेकोशी बाढीमा सम्पर्कविहीन मधेशका ३० जना परिवारको सम्पर्कमा, १६२ अझै बेपत्ता

nepalkuro.com

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका मधेश प्रदेशका १९२ जनामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरू टेलिफोनमार्फत आफन्तको सम्पर्कमा आएका हुन्। अझै १६२ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार सिन्धुली, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीका केही नागरिक आफन्तको सम्पर्कमा आएका छन्।

सम्पर्कमा आउनेमा वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ र श्याम मोक्तान, बाराका सत्यम राम र रुपेश गुप्ता तथा रौतहटका मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, सेख मजिद, पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल रहेका छन्।

त्यस्तै, सर्लाहीका वृजकिशोर दास, सुनिता दास र दिपेश थापा तथा महोत्तरीका राकेशकुमार यादव, विपीनकुमार मण्डल, श्रीकेश यादव, युवराज पाण्डे, सचिनकुमार यादव, आदित्यनारायण यादव र विकास भारती पनि सम्पर्कमा आएका छन्।

धनुषाका लक्ष्मण मेहता, दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, रीतिक झा, विक्रम ठाकुर र सुशान्त यादव तथा सिरहाका टार्जन बलम्पाकी, उमेश यादव र अजय मरिक पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

सप्तरीका सबैभन्दा धेरै सम्पर्कविहीन

प्रहरीका अनुसार अझै सप्तरीका ४८ जना, पर्साका ३८, बाराका २३, सर्लाहीका १८, रौतहटका १३, सिरहाका १२, महोत्तरीका १० र धनुषाका ७ जना सम्पर्कविहीन छन्।

मधेश प्रदेशका विभिन्न जिल्लाबाट आफन्त हराएको सूचना आउने क्रम अझै जारी रहेकाले प्रहरीले खोजी तथा विवरण सङ्कलन कार्यलाई तीव्रता दिएको एसएसपी ढकालले बताए।

प्रहरीले सम्पर्कविहीन नागरिकबारे प्राप्त हुने नयाँ विवरणलाई अद्यावधिक गर्दै खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।

प्रतिक्रिया