त्रिशूली–३ आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ९३ जनाको टोली परिचालन

nepalkuro.com

काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली तथा विशेषज्ञहरू ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरेर सुरुङको प्रवेशद्वार पत्ता लगाउने प्रयासमा जुटेका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सुरुङमा फसेकाको उद्धारका लागि भदौ १२ गतेदेखि सुरक्षाफौजले निरन्तर प्रयास गरिरहेको छ। गएराति वर्षा बढ्नुका साथै भोटेकोशी नदीको बहाव तीव्र भएपछि केही समय उद्धार कार्य रोकिएको थियो। नदीको बहाव घटेसँगै टोलीले पुनः काम अघि बढाएको सेनाले जनाएको छ।

उद्धार अभियानमा विशेषज्ञसहित ९३ जना सुरक्षाकर्मी तथा प्राविधिक जनशक्ति परिचालन गरिएको छ। सुरुङभित्रको अवस्था र प्रवेशद्वारको यकिन पहिचान गर्न आधुनिक उपकरणको प्रयोग भइरहेको छ।

यसैबीच, बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरेर खोज, उद्धार तथा राहत वितरणलाई निरन्तरता दिएको छ। सेनाका अनुसार प्रभावित जिल्लाहरूमा ८ हजार ४०० भन्दा बढी फौज परिचालन गरी विभिन्न निकायसँगको समन्वयमा काम भइरहेको छ।

सेनाले आज बिहान ११ बजेसम्म टिमुरे, धुञ्चे र हाकुबेँसी क्षेत्रबाट चार चिनियाँ नागरिकसहित १८३ जनाको उद्धार गरेको जनाएको छ।

बाढीका कारण सडक तथा पुलमा समेत व्यापक क्षति पुगेकाले कतिपय प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्‍याउन चुनौती भइरहेको छ। सुरुङमा फसेकाको उद्धारका लागि भने नदीको बहाव, मौसम र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सुरक्षाकर्मी तथा विशेषज्ञ टोलीले काम गरिरहेको छ।

प्रतिक्रिया