भोटेकोशी बाढीपछि पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत, ७६ शव सुरक्षित व्यवस्थापन
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
कास्की – रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।
पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन् ।
ती पाँच शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी रहेको बरालले बताए । लामो समयसम्म शवगृहमा राख्दा दुर्गन्ध फैलिनुका साथै महामारीको जोखिमसमेत हुन सक्ने भएकाले सुरक्षित रूपमा व्यवस्थापन गरिएको उनको भनाइ छ ।
‘सबै शवको डिएनए लिएका छौँ । परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,’ बरालले भने ।
प्रशासनका अनुसार धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट २२ शव पोखरा ल्याएर व्यवस्थापन गरिएको हो ।
व्यवस्थापन गरिएका शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखिएको छ । प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत नम्बर दिई माटोले पुरिएको प्रशासनले जनाएको छ ।
शव पुरिसकेपछि सम्बन्धित स्थानमा गमला राखेर शवको सङ्केत नम्बर उल्लेख गरिएको स्ट्यान्ड समेत बनाइएको छ । यसबाट भविष्यमा डिएनए परीक्षणबाट पहिचान खुलेमा सम्बन्धित शवको स्थान पहिचान गर्न सहज हुने जनाइएको छ ।
प्रशासनले सबै शवको डिएनए नमुना सुरक्षित राखिएकाले पछि परिवारका सदस्यसँग डिएनए मिलान गरी पहिचान खुलेमा कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने जनाएको छ ।