राष्ट्रसंघ महासभामा जानुअघि तथ्य र प्रमाणसहित तयारी गर्न प्रधानमन्त्री बालेनलाई गगनको सुझाव

nepalkuro.com

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि पर्याप्त तयारी गर्न सुझाव दिएका छन्।

आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै थापाले महासभामा नेपालको तर्फबाट आफ्ना विषय र दाबी प्रस्तुत गर्दा तथ्य, प्रमाण तथा वैज्ञानिक आधारसहित प्रस्तुत हुनुपर्ने बताएका हुन्।

थापाले प्रधानमन्त्रीलाई विगतका सरकारले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र गरेका कामको अध्ययन गरेर त्यसलाई समेत आधार बनाउन सुझाव दिए।

‘प्रधानमन्त्री महासभामा जाने कुरा सुन्यौं। त्यहाँ जाँदा तथ्य र प्रमाण लिएर जानुपर्छ। नेपालको पक्षमा लबिङ गर्दा पहिलेका सरकारले के गरेका थिए, पल्टाएर हेर्नुस्, सचिवालयको मात्र भर नपर्नुहोस्,’ थापाले भने।

उनले संयुक्त राष्ट्रसंघको महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा विगतका सरकार र प्रधानमन्त्रीहरूले नेपालका विभिन्न विषय उठाउँदै आएको भन्दै त्यसको निरन्तरतासहित थप प्रभावकारी तयारी गर्नुपर्ने बताए।

विशेषगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति, जलवायु न्याय तथा हानि–नोक्सानीको विषयलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने थापाको भनाइ छ। नेपालले न्यून हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असरबाट ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो रूपमा उठाउनुपर्ने उनले बताए।

थापाले प्रधानमन्त्रीलाई आफ्नो सचिवालयको सूचनामा मात्र निर्भर नभई विश्वविद्यालयका अनुसन्धानकर्ता, विज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग समेत परामर्श गर्न सुझाव दिए।

‘नेपालका धेरैजना समुद्रदेखि हिमालसम्म काम गर्नुभएको छ। सरकारले बोलाएमा विज्ञहरू अमेरिकाबाट रातारात आउन पनि तयार हुन्छन्,’ उनले भने, ‘तयारी साथ गयो भने शो मात्र होइन, उपलब्धि प्राप्त हुन्छ।’

उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा केवल आफ्ना समस्या सुनाउनेभन्दा पनि जलवायु वित्त, अनुदानमा आधारित सहयोग तथा क्षतिपूर्तिका लागि ठोस उपलब्धि हासिल गर्ने गरी लबिङ गर्नुपर्नेमा जोड दिए।

थापाले आगामी महासभालाई औपचारिक भ्रमण वा ‘ग्रान्ड शो’मा सीमित नगरी नेपालको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय मुद्दालाई स्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया