सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त, हिलो र धुवाँले स्थानीयवासी हैरान

nepalkuro.com

बनेपा– काठमाडौँ उपत्यकालाई काभ्रेपलाञ्चोकसँग जोड्ने सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना सुस्त गतिमा अघि बढ्दा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ। करिब १६ किलोमिटर सडक विस्तारको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा स्थानीयवासी हिलो, धुलो र धुवाँको मारमा परेका हुन्।

तीन वर्षअघि सुरु गरिएको आयोजनाको मूल ३६ महिनाको सम्झौता अवधि सकिएपछि म्याद थप गरिएको थियो। बजेट अभाव, निर्माणस्थलमा देखिएका विभिन्न अवरोध तथा प्राविधिक समस्याका कारण काम अपेक्षित गतिमा अघि बढ्न नसकेको आयोजनाले जनाएको छ।

आयोजनाअन्तर्गत सडकलाई मुख्य चार लेन र दुई सर्भिस लेन गरी छ लेनमा विस्तार गर्ने लक्ष्य राखिएको छ। सडक विस्तारसँगै नाला, पैदलमार्ग, सडक सुरक्षा संरचना, रिटेनिङ वाल तथा आवश्यक स्थानमा पुल र अन्डरपास निर्माण गर्ने सम्झौता छ।

सडक विभागका अनुसार आयोजनाको कुल अनुमानित लागत १० अर्ब ५० करोड रुपैयाँ रहेको छ भने सम्झौता रकम ८ अर्ब ५१ करोड रुपैयाँ छ। आयोजना सूर्यविनायक–साँगासाँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरिएको छ।

पछिल्लो विवरणअनुसार समग्र आयोजना सम्पन्न गर्न अझै ४० प्रतिशतभन्दा बढी काम बाँकी छ। काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा ६८ प्रतिशत भौतिक र ६३ दशमलव ५ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ।

भक्तपुरतर्फको सूर्यविनायक–साँगा खण्डमा भने भौतिक प्रगति ५४ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत पुगेको बताइएको छ।

आठ दशमलव तीन किलोमिटर लामो साँगा–धुलिखेल खण्ड स्तरोन्नतिको जिम्मा लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ। विसं २०७९ मङ्सिर २७ गते चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यस खण्डको काम २०८३ मङ्सिर २३ गतेसम्म सम्पन्न गर्नुपर्नेछ।

त्यस्तै, सात दशमलव पाँच किलोमिटर लामो सूर्यविनायक–साँगा खण्डको काम बन्धन भगवती जेभीले गरिरहेको छ। यस खण्डका लागि २०७९ पुस २४ गते तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। मूल सम्झौता अवधि ३६ महिना रहेको यस खण्डको म्याद २०८३ फागुन २९ गतेसम्म रहेको छ।

दुई खण्डको प्रगतिमा भने उल्लेख्य अन्तर देखिएको छ। काभ्रेतर्फको साँगा–धुलिखेल खण्डमा सर्भिस लेन, नाली तथा रिटेनिङ वाल निर्माणको काम अधिकांश सम्पन्न भइसकेको छ भने मुख्य सडकमा कालोपत्र गर्ने काम अघि बढिरहेको आयोजना कार्यालयले जनाएको छ।

यता साँगा, जनागाल, बाँसघारी, बुडोल तथा बनेपा बजार आसपासमा रिटेनिङ वाल, पक्की ढल नाली, सर्भिस लेन र मुख्य सडक कालोपत्रको काम सुस्त गतिमा भइरहेको छ। विशेषगरी बनेपा बजारको मुख्य सहरी क्षेत्रमा ढल, सर्भिस लेन तथा मुख्य सडक कालोपत्रको काम ढिलो हुँदा नगरवासीले दैनिक आवागमनमा समस्या झेल्नुका साथै स्थानीय व्यापार–व्यवसायमा समेत असर परेको गुनासो गरेका छन्।

सडक विस्तारको काम लामो समयसम्म अधुरै रहँदा यात्रु, स्थानीय बासिन्दा र व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग बढेको छ।

प्रतिक्रिया