काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ का ६० घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत अत्यावश्यक खाद्य सामग्री उत्तरगया–२ पुर्याएर स्थानीयवासीलाई वितरण गरेको हो । बाढीपछि उक्त क्षेत्र हालसम्म पनि सडक सञ्जालबाट सम्पर्कविहीन रहेको सोसाइटीले जनाएको छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को सहयोगमा खाद्य सामग्री वितरण गरिएको हो । ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीलगायत स्वयंसेवकले स्थानीयवासीलाई वितरण गरेका थिए ।
अध्यक्ष भण्डारीले भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र खटिरहेको बताए ।
उनले भने, “भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन् । स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङका बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन् । यस क्रममा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ ।”
आजदेखि रेडक्रसको आपत्कालीन क्लिनिक सञ्चालन
यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा आजदेखि आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदैछ ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टार परिसरमा सञ्चालन हुने उक्त क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढी प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिने सोसाइटीले जनाएको छ ।
सोसाइटीका अनुसार क्लिनिकबाट बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि सेवा, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र प्रेषण (रेफरल) सेवा उपलब्ध गराइनेछ ।