राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलले प्रतिवेदन बुझाएसँगै संविधान संशोधनको बहस सुरु भएको छ । तर संविधान संशोधनमा सरकारले गरेको पहलप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सन्तुष्ट छैन । कांग्रेसले कार्यदल गठन प्रक्रिया, प्रतिनिधित्व र अधिकार क्षेत्रमै प्रश्न उठाउँदै त्यसले बुझाएको प्रतिवेदनलाई संविधान संशोधनको आधार बनाउन नसकिने अडान राखेको छ ।
कांग्रेसले संविधान संशोधनबारे पार्टीभित्र विस्तृत बहसका लागि कार्ययोजना र विषयगत खाका तयार गर्ने उद्देश्यले सुझावहरू संकलन गरिरहेको छ । ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’मार्फत कांग्रेसले कार्ययोजना र विषयगत खाका तयार गर्ने उद्देश्यले सुझाव संकलनको काम अघि बढाएको छ ।कांग्रेस उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समितिले देशभर विभिन्न पक्षसँग छलफल गर्दै सुझाव संकलन भइरहेका कारण संविधान संशोधनका लागि मस्यौदा लेखनको काम भने सुरु नभएको जनाएको छ ।