कृष्णभिरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा मालवाहकलाई राति मात्रै सञ्चालन अनुमति
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काभ्रे– केही दिनअघि आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ। बढ्दो सवारी चाप नियन्त्रण गर्दै आवागमन सहज बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधनलाई रातको समयमा मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गको क्षमतालाई ध्यानमा राख्दै मालवाहक सवारीसाधनको अधिकतम तौल सीमा १० टन निर्धारण गरेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सडकमा जाम हुन नदिन ट्राफिक प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समन्वय गरी धुलिखेल–खुर्कोट सडकखण्डमा मालवाहक सवारीसाधनको समय व्यवस्थापन गरिएको हो।
यस्तै, ग्यास बुलेटलगायत ठूला मालवाहक सवारीसाधनलाई धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको रोहवरमा मात्रै सञ्चालन गराइने भएको छ। यसबाट सडकको क्षमता र जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन व्यवस्थापन गर्ने प्रशासनको योजना छ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जोखिमयुक्त तथा साँघुरा घुम्तीहरूमा तत्काल सुधारका काम अघि बढाइएको जानकारी दिए। सडक अवरुद्ध हुन नदिन संवेदनशील स्थानहरूमा डोजर तथा अन्य आवश्यक उपकरण तयारी अवस्थामा राखिएको उनले बताए।
पृथ्वी राजमार्गको कृष्णभिर क्षेत्रमा बाढी तथा सडक अवरोधका कारण वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको बीपी राजमार्गमा सवारीसाधनको चाप बढेपछि प्रशासनले सडकको अवस्था र क्षमतालाई ध्यानमा राख्दै यस्तो व्यवस्थापन गरेको हो।