रसुवा बाढीबारे भ्रामक भिडियो र सूचनाबाट सचेत रहन प्राधिकरणको आग्रह

nepalkuro.com

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सामाजिक सञ्जालमा फैलिएका गलत भिडियो तथा भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गरेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलमै नभएका केही फेक भिडियो सामाजिक सञ्जालमार्फत फैलिँदा जनमानसमा नकारात्मक प्रभाव परेको बताए ।

आधिकारिक व्यक्तिहरूबाट आएका भनिएका केही भिडियोसमेत प्राधिकरणको सामाजिक सञ्जाल अनुगमन तथा फ्याक्ट चेक गर्ने टोलीले परीक्षण गर्दा फेक पाइएको उल्लेख गर्दै उनले यस्ता भ्रामक सामग्रीमा विश्वास नगर्न आग्रह गरे ।

उप्रेतीले चीनसँग समन्वय तथा विज्ञताको आदानप्रदान गर्दै खोज, उद्धार र राहतका काममा कुनै कसर बाँकी नराखिएको बताए । बेपत्ता व्यक्तिको नाम प्राप्त हुनासाथ तीनवटै सुरक्षा निकाय तथा फिल्डमा खटिएका टोलीलाई जानकारी गराएर खोज तथा उद्धार कार्य अघि बढाइएको उनले जानकारी दिए ।

खोज तथा उद्धारमा खटिएका हेलिकप्टर खाली रहेको समयमा काठमाडौं नभई त्रिशूली वा रसुवाबाटै खाद्य सामग्री, राहत, विद्युत् तथा सञ्चारका उपकरण प्रभावित क्षेत्रमा पठाउने प्रयास भइरहेको पनि उनले बताए ।

राहत नपाएको गुनासो आएका स्थानमा स्थानीय सरकारसँग निरन्तर समन्वय गरी समस्या सम्बोधन गर्ने काम भइरहेको उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया