डडुवामा व्यावसायिक तरकारीखेतीको लहर, टनेलबाटै किसानको आम्दानी बढ्दै

nepalkuro.com

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यस याममा प्लास्टिक टनेलमा उत्पादन गरेको भेडेखुर्सानी (क्याप्सिकम) बिक्री गरेर ५० हजार रुपैयाँ आम्दानी गरेकी छन्। ‘एटुजेड’ कृषि फार्म सञ्चालन गर्दै आएकी भण्डारीले भेडेखुर्सानी बिक्री सकिएपछि गोलभेँडा र रायोसाग खेती गर्ने तयारी गरेकी छन्।

बसाइँसराइ, श्रमशक्तिको अभाव, बाँदरको उपद्रव र उत्पादन लागत बढ्दै गएपछि डडुवाका किसान परम्परागत खाद्यबाली छाडेर व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका हुन्।

करिब आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको पहलमा कास्की र पर्वतका कृषि फार्मको अवलोकन भ्रमण गरेपछि डडुवाका किसानको खेती गर्ने शैलीमा परिवर्तन आएको हो। भ्रमणपछि कृषि ज्ञान केन्द्रको सहयोगमा प्लास्टिक टनेल निर्माण गरी परीक्षणका रूपमा गोलभेँडा खेती सुरु गरिएको अगुवा कृषक मोहनबहादुर भण्डारीले बताए।

“त्यतिबेला दुई वटा टनेलबाट सुरु भएको गोलभेँडा खेती अहिले गाउँभर करिब ५० वटा टनेलमा विस्तार भएको छ,” बहराइनमा १० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएपछि हाल नौ वटा टनेलमा गोलभेँडा खेती गरिरहेका भण्डारीले भने, “पहिले तरकारी किनेर खाने डडुवा अहिले तरकारी बेचेर नगद भित्र्याउने बनेको छ।”

किसानका अनुसार करिब ७५ हजार रुपैयाँ लागतमा निर्माण हुने एउटा प्लास्टिक टनेलबाट एक याममा १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ।

६५ घरधुरी रहेको डडुवामा २० भन्दा बढी किसानले व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन्। अन्य किसानले समेत घरायसी प्रयोजनका लागि गोलभेँडासँगै काँक्रो, सिमी, साग, मुला, गाजर र भण्टा उत्पादन गर्ने गरेका छन्। यहाँ उत्पादित तरकारी बेनी र पोखराका बजारमा बिक्री हुने गरेको छ।

तर, किसानले उत्पादन र बजारीकरणका क्रममा विभिन्न समस्या झेल्दै आएका छन्। पुलाचौर–डडुवा कच्ची सडकका कारण तरकारी ढुवानीमा समस्या हुने गरेको छ भने सिँचाइको अभाव, प्राविधिक सहयोगको कमी र बिचौलियाका कारण उचित मूल्य पाउन नसकेको किसानको गुनासो छ।

बजारमा उपभोक्ताले प्रतिकिलो १२० रुपैयाँमा खरिद गर्ने गोलभेँडा किसानले भने करिब आधा मूल्य अर्थात् ६० रुपैयाँमै बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

कृषि विकास कार्यालय म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाले डडुवा व्यावसायिक तरकारीखेतीमा नमुना बन्दै गएको बताए। उनका अनुसार कार्यालयले किसानलाई साना सिँचाइ पोखरी, प्लास्टिक घर तथा यान्त्रिक हलोमा अनुदान उपलब्ध गराउँदै आएको छ।

बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले पुलाचौर–नयाँगाउँ खण्डको सडक स्तरोन्नति गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरण सहज बनाउन बेनीमा कृषि बजार सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ।

पूर्वाधार, सिँचाइ र बजारको समस्या समाधान गर्न सके डडुवाको व्यावसायिक तरकारीखेतीले किसानको आम्दानीसँगै स्थानीय उत्पादन र रोजगारी बढाउन थप योगदान पुर्‍याउने देखिन्छ।

प्रतिक्रिया