मुटुको शल्यक्रियाको तयारीमा रहेका सफा टेम्पो चालकलाई ८९ हजार सहयोग

nepalkuro.com

काठमाडौं– मुटुमा प्वाल परेको समस्याका कारण सात महिनादेखि उपचाररत काठमाडौंका सफा टेम्पो चालक रमेश तामाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ८९ हजार ३०० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

महाराजगञ्जस्थित बाँसबारीको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत तामाङलाई संगठनले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो। तामाङको आगामी आइतबार मुटुको शल्यक्रिया हुँदैछ।

शल्यक्रियाअघि संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेसहितको टोलीले सोमबार ५० हजार १०० रुपैयाँ हस्तान्तरण गरेको हो। यसअघि पनि संगठनले तामाङलाई ३९ हजार २०० रुपैयाँ सहयोग गरिसकेको थियो।

परिवारको मुख्य आयस्रोत रहेका तामाङको उपचारमा थप सहयोग गर्न संगठनले श्रमिकहरूलाई आह्वानसमेत गरेको छ। काठमाडौंको अनामनगर रुटमा बा.१ ह. ३९९३ नम्बरको सफा टेम्पो चलाउँदै आएका तामाङको गत फागुनमा मुटुमा प्वाल परेको समस्या पहिचान भएको थियो। उनी विसं २०६० देखि अनामनगर रुटमा सफा टेम्पो चालकका रूपमा कार्यरत छन्।

हेटौंडाका स्थायी बासिन्दा तामाङ काठमाडौंमा भाडामा बस्दै आएका छन्। आफ्नो श्रमबाट श्रीमती, एक छोरी र एक छोराको पालनपोषण तथा शिक्षादीक्षा गर्दै आएका उनी स्वास्थ्य समस्याका कारण अहिले आर्थिक तथा पारिवारिक कठिनाइमा परेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको काठमाडौं सफा टेम्पो कमिटीमार्फत तामाङका लागि सहयोग जुटाइएको हो। काठमाडौं सफा टेम्पो कमिटीका कोषाध्यक्ष धर्मराज सापकोटाले तामाङको उपचार तथा पारिवारिक अवस्थालाई ध्यानमा राख्दै संगठनले निरन्तर सहयोग गर्दै आएको बताए।

‘उहाँको उपचारमा सहयोग गर्न संगठनमार्फत सम्पूर्ण श्रमिकलाई आह्वान गर्छौं,’ सापकोटाले भने।

अस्पताल पुगेको संगठनको टोलीले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारका लागि आवश्यक सहयोगका विषयमा समेत छलफल गरेको थियो।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले श्रमिकको उपचारका लागि संगठनका तर्फबाट सक्दो सहयोग गरिने बताए।

तामाङलाई भेट्न संगठनका केन्द्रीय उपाध्यक्ष घिमिरेसहित केन्द्रीय सदस्यहरू कृष्णमाया ब्लोन, कमल सापकोटा, बागमती प्रदेश अध्यक्ष वेदप्रसाद घिमिरे, उपसचिव नारायण श्रेष्ठ (काइँला) तथा सदस्यहरू विकास लामा र तीर्थमाया लामा लगायत अस्पताल पुगेका थिए।

प्रतिक्रिया