१० वर्षमा ३०१ जनाको मृत्यु : सर्पदंश नियन्त्रणका लागि सरकारको नयाँ राष्ट्रिय कार्ययोजना

nepalkuro.com

काठमाडौं – पछिल्लो १० वर्षमा देशभर सर्पदंशका एक हजार ६७८ घटनामा ३०१ जनाको मृत्यु भएपछि सरकारले सर्पदंश रोकथाम र नियन्त्रणका लागि नयाँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।

सरकारले ‘सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ जारी गर्दै देशका सबै स्थानीय तहलाई तत्काल कार्यान्वयन र आवश्यक समन्वयका लागि निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा कार्ययोजना जारी गरेका हुन्।

कार्ययोजनाको मुख्य उद्देश्य सर्पदंशका कारण हुने अकाल मृत्यु र अपाङ्गता रोक्नुका साथै यसबाट हुने सामाजिक तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्नु रहेको छ।

कार्ययोजनामा उल्लेख भएअनुसार २०७३ सालदेखि २०८३ साल असार मसान्तसम्म देशभर सर्पदंशका एक हजार ६७८ घटना भएका छन्। ती घटनामा एक हजार ४०१ जना घाइते भएका छन् भने ३०१ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमध्ये ४२ प्रतिशत महिला र करिब २२ प्रतिशत बालबालिका रहेका छन्।

अस्पताल पुग्न ढिलाइ र अन्धविश्वास मुख्य चुनौती

सर्पदंशका कारण हुने उच्च मृत्युदरका पछाडि बिरामीलाई समयमा अस्पताल पुर्‍याउन नसक्नु, धामीझाँक्री तथा झारफुकजस्ता अन्धविश्वासमा आधारित उपचारमा अल्झिनु, एन्टिभेनमको सीमित उपलब्धता, दक्ष स्वास्थ्यकर्मीको अभाव र आपतकालीन उद्धारमा हुने ढिलाइलाई प्रमुख कारणका रूपमा औँल्याइएको छ।

जलवायु परिवर्तन, वन विनाश, अनियन्त्रित सहरीकरण र प्राकृतिक वासस्थानको क्षतिका कारण मानव र सर्पबीचको सम्पर्क बढ्दै जाँदा जोखिम थप तीव्र बन्दै गएको कार्ययोजनामा उल्लेख छ।

सर्पदंशको असर जनस्वास्थ्यमा मात्र सीमित नरही सामाजिक, आर्थिक र वातावरणीय क्षेत्रमा समेत पर्ने गरेको छ। यसबाट स्नायु प्रणालीको पक्षघात, अत्यधिक रक्तस्राव, श्वासप्रश्वासमा समस्या र मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने बताइएको छ।

विपन्न वर्ग, कृषि मजदुर, महिला तथा बालबालिका बढी जोखिममा पर्ने गरेका छन्। उपचार खर्चले परिवारलाई आर्थिक रूपमा थप समस्यामा पार्नुका साथै राज्यकोषमा समेत अतिरिक्त व्ययभार पर्ने गरेको छ।

२२ जिल्ला अति प्रभावित र उच्च जोखिममा

कार्ययोजनाले देशका छ वटा प्रदेशका २२ जिल्लालाई सर्पदंशबाट अति प्रभावित तथा उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ।

मधेश प्रदेशका ८ जिल्ला :
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा।

लुम्बिनी प्रदेशका ७ जिल्ला :
दाङ, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)।

कोशी प्रदेशका ३ जिल्ला :
झापा, मोरङ र सुनसरी।

सुदूरपश्चिम प्रदेशका २ जिल्ला :
कञ्चनपुर र कैलाली।

त्यसैगरी बागमती प्रदेशको चितवनगण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पनि उच्च जोखिमयुक्त जिल्लाको सूचीमा परेका छन्।

नयाँ उपचार केन्द्रदेखि मोटरसाइकल एम्बुलेन्ससम्म

कार्ययोजना अनुसार सर्पदंश उपचार र प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई एडभान्स क्लिनिकल म्यानेजमेन्ट तालिम दिइनेछ। उपचारका लागि मानकीकृत उपचार प्रोटोकल लागू गरिनुका साथै स्वास्थ्य संस्थामा स्नेकबाइट सिमुलेशन एक्सरसाइज र नर्स तथा प्यारामेडिकलाई रिफ्रेसर तालिम सञ्चालन गरिनेछ।

देशभर रहेका सर्पदंश उपचार केन्द्रको भौगोलिक अवस्थिति विपद् पोर्टलमा जियोलोकेसनसहित राखिनेछ। जीआईएस प्रविधिमा आधारित मोबाइल एप विकास गरी उपचार केन्द्र खोज्न सहज बनाउने योजना पनि कार्ययोजनामा समेटिएको छ।

बढी प्रभावित स्थानीय तहमा नयाँ उपचार केन्द्र स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिनेछ। बिरामीलाई छिटो अस्पताल पुर्‍याउन मोटरसाइकल एम्बुलेन्स सेवा समेत परिचालन गरिने योजना छ।

उच्च जोखिमयुक्त जिल्लामा एन्टिभेनमको पर्याप्त बफर स्टक राखिनेछ भने गम्भीर बिरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटर बेडको क्षमता विस्तार गरिनेछ।

उद्धार र रेस्क्यु टोली गठन गरिने

बिरामीको समयमै उद्धार र अस्पताल प्रेषणका लागि आपतकालीन रेफरल नेटवर्कलाई सुदृढ बनाइनेछ। समुदायस्तरमै कम्युनिटी इमर्जेन्सी ट्रान्सपोर्ट सिस्टम विकास गर्ने र सर्पको सुरक्षित उद्धारका लागि तालिमप्राप्त स्नेक रेस्क्यु टिम गठन गर्ने योजना पनि सरकारको छ।

वर्षायाममा सर्पदंशको जोखिम बढी हुने भएकाले मनसुनका लागि छुट्टै स्नेकबाइट इमर्जेन्सी अपरेसन प्लान तयार गरिनेछ। सम्भावित जोखिमको सामना गर्न नियमित रूपमा मक ड्रिलसमेत सञ्चालन गरिनेछ। कार्ययोजनाको समग्र अनुगमन र सहजीकरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ।

सर्पले टोकेमा के गर्ने, के नगर्ने ?

कार्ययोजनाले जोखिम कम गर्न घर वरपरका झाडी तथा फोहोर सफा राख्न, मुसा र भ्यागुतो नियन्त्रण गर्न, भुइँमा नसुती खाटमा झुल टाँगेर सुत्न र अँध्यारोमा हिँड्दा टर्चलाइट प्रयोग गर्न सुझाव दिएको छ।

सर्पले टोकेमा बिरामीलाई आत्तिन नदिई शान्त राख्नुपर्ने र टोकेको अंगलाई अनावश्यक रूपमा चलाउन नहुने बताइएको छ।

सरकारले घाउलाई ब्लेडले चिर्ने, रगत बगाउने, मुखले विष चुस्ने, कसिलो गरी बाँध्ने, घरेलु जडीबुटी वा बरफ लगाउनेजस्ता अभ्यास नगर्न आग्रह गरेको छ। यस्ता कार्यले बिरामीको अवस्था थप जटिल बनाउन सक्ने भएकाले तत्काल सुरक्षित रूपमा उपचार केन्द्र पुर्‍याउनुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, सर्प देखिएमा त्यसलाई मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम राख्न र तालिमप्राप्त उद्धार टोली वा सम्बन्धित सुरक्षा निकायलाई खबर गर्न सरकारको आग्रह छ।

सरकारको नयाँ कार्ययोजनाले समयमै उपचार, पर्याप्त एन्टिभेनम, छिटो उद्धार र समुदायस्तरको सचेतनामार्फत सर्पदंशबाट हुने मृत्यु शून्यतर्फ झार्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया