फियोरेन्टिनाले प्रशिक्षक ग्रोसोलाई बर्खास्त गर्‍यो

nepalkuro.com

काठमाडौं– इटालियन सिरिए फुटबलको नयाँ सिजनमा खराब सुरुवात गरेपछि फियोरेन्टिनाले प्रमुख प्रशिक्षक फाबियो ग्रोसोलाई पदबाट बर्खास्त गरेको छ।

सिजनका सुरुआती तीनवटै खेलमा लगातार पराजय व्यहोरेपछि क्लब व्यवस्थापनले ग्रोसोलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। तीन खेलबाट एक अंकसमेत जोड्न नसकेको फियोरेन्टिना अहिले सिरिए अंकतालिकाको पुछारमा रहेको छ।

क्लबका लागि जारी सिजनको सुरुवात विगत ९० वर्षयताकै खराब बनेको बताइएको छ। यसै सिजन सासुओलोबाट फियोरेन्टिना आएका ४८ वर्षीय ग्रोसोले जिम्मेवारी सम्हालेको केही सातामै पद गुमाएका हुन्।

सन् २००६ मा इटालीले विश्वकप जित्दा टोलीका सदस्य रहेका ग्रोसोले फियोरेन्टिनाको खराब लय सुधार्न सकेनन्। पछिल्लो खेलमा घरेलु मैदान ‘फ्रान्की’मा टोरिनोसँग १–२ गोलले पराजित भएपछि समर्थकहरूले मैदानमै उनको चर्को विरोध गरेका थिए।

त्यसअघि फियोरेन्टिना फ्रोसिनोनसँग ०–३ र रोमासँग ०–४ गोलले पराजित भएको थियो।

क्लबले ग्रोसोलाई बर्खास्त गर्नुको औपचारिक कारणबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। नयाँ प्रशिक्षकको समेत टुंगो लागिसकेको छैन।

यो सिजन सिरिएमा बर्खास्त हुने ग्रोसो पहिलो प्रशिक्षक बनेका छन्। अब टोलीलाई खराब प्रदर्शनबाट बाहिर निकालेर लयमा फर्काउने चुनौती क्लब नेतृत्वसामु रहेको छ।

प्रतिक्रिया